विषादी न्यूनीकरणमा जोड दिँदै कृषि ज्ञान केन्द्र

मनाङ । हिमाली जिल्ला मनाङमा रासायनिक विषादीरहित उत्पादन हुने स्थानको रूपमा परिचित छ । तर, यहाँ विषादी उपयोगमा न्यूनीकरण तथा प्रयोगमा ल्याउनु अघि नै सचेत गराउने उद्देश्यले समुदायस्तरमा सचेतना फैलाउन कृषि ज्ञान केन्द्र लागिपरेको छ ।
खेतीबालीमा अधिकांश स्थानमा विषादी प्रयोग भएको पाइएको छ । यहाँ पनि बढी उत्पादन लिने र किराफट्याङ्ग्रालाई मार्ने उद्देश्यले उपयोगमा ल्याउन सक्ने सम्भाव्यतालाई मध्यनजर गरी सचेतनाका कार्यक्रम गरिएको केन्द्र प्रमुख मदन रेग्मीले जानकारी दिए । मानव स्वास्थ्यमा पार्ने असरका बारेमा समुदायस्तरमा सचेतना फैलाउन आवश्यक देखेर अभियानकै रूपमा कार्यक्रमलाई अगाडि बढाइएको उनले बताए ।
रासायनिक विषादी उपयोगलाई न्यूनीकरण गर्दै स्थानीय वनस्पति, गहुँत, गोबरलगायतबाट मल बनाउन समेत सिकाइएको छ, जैविक मलको प्रयोगले माटोको उर्वरतामा वृद्धि गर्छ, यसका लागि जैविक मल उपयुक्त हो, उनले भने । किराफट्याङ्ग्रा लाग्न नदिनका लागि वानस्पतिक विषादी एवं झोलमल बनाउने विधिसम्बन्धि तालिम दिइएको छ । चामे गाउँपालिका–२ का करिब ४२ किसानलाई प्राङ्गारिकमय बनाउने उद्देश्यले रासायनिकभन्दा प्राङ्गारिक मल प्रयोगमा ल्याउन सिकाइएको प्रमुख रेग्मीले बताए ।
विषादीरहित खानपान हुन्छ भन्ने बुझेका यहाँ आउने पर्यटकलाई व्यवहारमा पनि लाग्नु आवश्यक छ, जसले मानवीय स्वास्थ्यमा पनि असर नगरोस् र यसले जैविक खेतीतर्फ आकर्षित पनि गराउन सकियोस्, उनले भने, विषादीको प्रयोगलाई न्यूनीकरणभन्दा पनि पूर्ण रूपमा उपयोगमा नल्याउन सिकाइएको छ । सिस्नु, तितेपातीबाट जैविक मल बनाउन सिकाइएको छ । जैविक मलले माटोको उर्वरतामा वृद्धि गर्ने प्रमुख रेग्मीले बताए ।
मनाङमा उत्पादित खाद्यवस्तु पूर्ण रूपमा विषादीरहित भए पनि अहिले मौसममा आएको परिवर्तनले विषादी हाल्नुपर्ने सूचना पाएका किसानलाई सचेत गराउन आवश्यक छ । मावनीय स्वास्थ्यसँग जोडिएकाले खाद्यान्न, तरकारीलगायतमा विषादी प्रयोगलाई पूर्ण रूपमा निरुत्साहित गर्नुपर्ने देखिन्छ ।
प्रतिक्रिया