बिहीबार, असार १२, २०८२

रानीमहललाई पुरानै अवस्थामा संरक्षण गरिने

नेपालखोज २०८२ असार १२ गते १४:३५

काठमाडौं । पाल्पाको रानीमहललाई पुरानै अवस्थामा फर्काइ संरक्षण गरिने भएको छ ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा. शिवराज अधिकारी, पाल्पा जिल्लाका जनप्रतिनिधि, पुरातत्व विभागका महानिर्देशक, पाल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी, इन्जिनियर लगायतको बैठकले खड्ग शम्शेरले निर्माण गरेको रानीमहलको स्वरूपमा ल्याएर संरक्षण गर्ने र त्यसका लागि गुरुयोजना बनाएर काम अघि बढाउने निर्णय गरेको हो ।

उपप्रधानमन्त्री पौडेलले रानीमहल दुर्लभ मध्येको एउटा महत्त्वपूर्ण ठाउँ रहेको उल्लेख गर्दै पुरानो शैली र आकारसँग सम्बन्धित सामग्री संकलन गरी अध्ययन गर्न, गुरुयोजना बनाउन र सोही अनुसार कार्यान्वयन विधि तयार पार्न पुरातत्व विभागलाई निर्देशन दिए ।

उनले ऐतिहासिक र पुरातात्विक महत्त्वलाई विशेष ध्यान दिएर नदी तथा पहिरो व्यवस्थापन र निर्माणका अरु कार्यलाई अघि बढाउन जोड दिए ।

प्रतिक्रिया