शुक्रबार, असार १३, २०८२

कोरियाली बुहराष्ट्रिय कम्पनीले प्रतिस्पर्धाबाट सद्भावना दूत छनोट गर्ने

नेपालखोज २०८२ असार १२ गते १८:०५

काठमाडौं । दक्षिण कोरियाको बहुराष्ट्रिय कम्पनी एसवाई ग्रुपको नेपाल च्याप्टरले प्रतिस्पर्धाका माध्यमबाट सद्भावना दूत (ब्राण्ड एम्बेसडर’ छनोट गर्ने जनाएको छ ।

कम्पनीले आज यहाँ पत्रकार सम्मेलन आयोजना गरी प्रतिस्पर्धामार्फत तीन जना दूत छनोट गर्न लागेको जानकारी दियो । गत जेठदेखि सुरु भएको सो कार्यक्रम आगामी माघसम्म चल्नेछ ।

विभिन्न तीन चरणमा आयोजना हुने सो प्रतियोगितामा प्रथम हुनेलाई रु पाँच लाख पुरस्कार र एक वर्षका लागि रु एक करोड बराबरको सद्भावना दूत सम्झौता गरिने आयोजकले जनाएको छ ।

दोस्रो हुनेलाई रु चार लाख पुरस्कार र एक वर्षका लागि रु ५० लाखको सम्झौता तथा तेस्रो हुनेलाई रु तीन लाख पुरस्कार र रु वार्षिक ३० लाखको सम्झौता हुने कम्पनीका कार्यकारी निर्देशक बिमलराज गोसाइँले जानकारी दिए ।

नेपालको दूरदराजमा रहेका प्रतिभा प्रस्फुटन गराई उनीहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सक्षम बनाउने उद्देश्यले उक्त प्रतियोगिताको आयोजना गरिएको उनको भनाइ छ ।

प्रतियोगितामा सहभागी हुनेले एसवाई कम्पनीको नेपाल साझेदार सहायक कम्पनीको प्रवद्र्धनात्मक भिडियो बनाएर पेस गर्नुपर्ने र उत्कृष्ट भएकालाई सद्भावना दूत नियुक्त गरिने कार्यक्रम संयोजक विजय बस्नेतले जानकारी दिए । उक्त कम्पनी अन्तर्गत नेपालमा रहेका विभिन्न सहायक कम्पनीमा दुई सयभन्दा बढीले प्रत्यक्ष र २० हजारभन्दा बढीले अप्रत्यक्ष रोजगार पाएका कम्पनीको दाबी छ । -रासस

प्रतिक्रिया