शुक्लाफाँटामा २० वर्षमुनिका किशोरी आमा बन्ने दर बढ्दो

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकामा २० वर्ष मुनिका किशोरी आमा बन्ने दर बढ्दै जान थालेको छ । उमेर नपुगेरै विवाह गरी आमा बन्ने किशोरीमा शारीरिक तथा मानसिक स्वास्थ्यमा असर पर्दै गएको छ । नगरपालिकाको स्वास्थ्य शाखाको तथ्याङ्कअनुसार चालु आवमा बर्थिङ सेटरमा सुत्केरी भएका ३०२ महिलामध्ये २० वर्ष मुनिका ३० जना रहेका छन् ।
गत वर्ष त्यो सङ्ख्या २८ रहेको थियो । उमेर नपुगिकनै आमा बन्ने किशोरीको उमेर १६ देखि १९ वर्ष रहने गरेको छ । बीस वर्ष मुनिका किशोरीमा गर्भाधारणका लागि शरीर परिपक्व नहुँदा बच्चा र आमा दुवैको स्वास्थ्य अवस्था जोखिममा पर्ने नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टले बताए । उनका अनुसार कानुनी रूपमा २० वर्षभन्दा कम उमेरमा विवाह गर्न नपाइने प्रावधान भए पनि व्यवहारमा भने त्यो लागू हुन सकेको छैन ।
शिक्षा, जनचेतना र यौन स्वास्थ्यसम्बन्धी जानकारीको अभावले किशोरी सुरक्षित यौन व्यवहारबारे जानकारी नपाई गर्भवती हुने गरेको उनले बताए । शरीरको पूर्ण विकास नहुँदा प्रसूतिमा जटिलता, कम तौलको बच्चा जन्मिनु, सङ्क्रमणको जोखिम आमा रहन्छ भने जन्मने शिशुमा शारीरिक कमजोरी र सङ्क्रमण दर बढ्दो रुपमा रहेको पाइने गरेको उनले बताए ।
शिक्षा, जनचेतना र स्वास्थ्य सेवा सुदृढ पार्नसकेमात्रै किशोरी गर्भाधारण दर घटाउन सकिन्छ, उनले भने, समुदायस्तरमा महिला शिक्षाको पहुँचलाई अभिवृद्धि गर्दै किशोरीलाई यौन शिक्षा दिने कार्यसँगै बालविवाह विरुद्धको कानुनी प्रावधानबारे जानकारी गराइनुपर्छ । अधिकांश २० वर्ष मुनिका गर्भवती हुने किशोरीमा विद्यालयको पढाइबीचमै छाडेर भागी विवाह गरेको पाइएको छ । अभिभावकको दबाबमा किशोरावस्थामै विवाह गरिएको भने पाइएको छैन ।
प्रतिक्रिया