शुक्रबार, असार १३, २०८२

कुनै एक पार्टीलाई बहुमत ल्याउन कठीन छः सभापति देउवा

नेपालखोज २०८२ असार १३ गते १५:१७

चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानमा भएको निर्वाचनसम्बन्धी व्यवस्थाका कारण कुनैपनि पार्टीलाई बहुमत ल्याउन कठिन हुने धारणा राखेका छन् ।

नेपाली कांग्रेस चितवनले आज यहाँ आयोजना गरेको प्रजातन्त्र सेनानी स्व गौरीदेवी प्रधानको सातौं दिनको पूण्यतिथिको अवसरमा आयोजित श्रद्धाञ्जलीसभामा उनले अहिलेको संविधानमा समावेशी र समानुपातिक व्यवस्थानले कुनै एउटा दललाई बहुमत ल्याउने अवस्था नहरेको उल्लेख गरे । नेपाली कांग्रेस बलियो बनाउने बाहेक अन्य सोच आफूमा नरहेको उनको भनाइ थियो । उनले भने, यही यही पार्टीको सभापति भए, पार्टीकै कारण पटक–पटक प्रधानमन्त्री पनि भएँ, पार्टीलाई मुलुकभर बलियो बनाउने बाहेक मेरो कुनै उद्देश्य छैन ।

निर्वाचनमा एक जनाले मात्र टिकट पाउने भएकाले टिकट नपाउनेले पाउनेलाई सहयोग गरेर अघि बढ्न सके पार्टी बलियो हुने उनको भनाइ थियो । कांग्रेसभित्रको रोग हटाउन आवश्यक रहेको उल्लेख गर्दै सभापति देउवाले सच्चा मनले एक भए संविधानलाई बचाउँदै एकल बहुमत ल्याउनसक्ने पार्टी बनाउन आवश्यक रहेको उल्लेख गरे । गौरीदेवी प्रधान र उनका श्रीमान् श्यामकृष्ण प्रधानले देखाएको बाटोमा लागेर उनीहरुले छाडेका अपूरा काम पूरा गर्न आवश्यक रहेको उनको भनाइ थियो ।

प्रधान परिवार प्रजातन्त्रमा आस्था राख्ने समाजसेवी र सहयोगी मनको भएको भन्दै उनले आफू पनि प्रधान परिवारसँग नजिक भएको स्मरण गरे । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय कोषाध्यक्ष उमेश श्रेष्ठले नेपाललाई सम्बृद्ध बनाउने पार्टी कांग्रेस भएको बताए । इतिहासलाई सम्झेर जनताको चाहनाअनुसार पार्टीलाई अघि बढाउन सके कांग्रेस बलियो बन्ने उनको भनाइ थियो ।

कांग्रेस नेता बिमलेन्द्र निधिले गठबन्धन आश्यकता र परिस्थिति हेरेर गर्न सकिने बताए । एक्लै बहुमत ल्याउन नसक्ने अवस्थामा गठबन्धन गरेर ठूलो दलका रुपमा आउन सकिने उनले बताए । नेता डा शशाङ्क कोइरालाले कांग्रेसलाई बलियो बनाउन सके संविधानको रक्षा हुने बताए ।

लोकतान्त्रिक आन्दोलनमा गौरीदेवी प्रधानको भूमिका महत्वपूर्ण रहेको बताउँदै उनले आगामी दिनमा लोकतान्त्रिक आन्दोलनका योद्धाहरुको योगदानलाई सम्मान गर्दै अघि बढ्नु पर्ने बताए । नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमा रेग्मी र टेकप्रसाद गुरुङले गौरीदेवी प्रधानले नेपालको हरेक आन्दोलनमा खेलेको भूमिकाको बारेमा चर्चा गरेका थिए ।

प्रतिक्रिया