लेक उक्लिए गोठाला

ढोरपाटन (बागलुङ) । बर्खामा लेक र हिउँदमा बेसी सर्ने पश्चिम बागलुङका गोठालाको परम्परानै भइसक्यो । निसीखोला, तमानखोला र ढोरपाटनका धेरैजसो स्थानीयको मुख्य पेसा पशुपालन भएकाले चरिचरनका लागि लेकबेसी गर्ने गर्छन् ।
यस वर्ष पनि बर्खा लागेसँगै गोठालाहरु वस्तुभाउ लिएर लेक उक्लिन थालेका छन् । असार पहिलो सातादेखि नै लेक उक्लिन सुरु गरेका गोठलाहरु कोही गोठमै पुगिसके भने कोही बीच बाटोमै छन् । असार अन्तिम सातासम्म सबै गोठला लेकमा पुगिसक्छन् ।
एकै परिवारले सयौँको सङ्ख्यामा पशुपाल्ने हुँदा हिउँद बर्खा लेकबेसी गर्नु परेको हो । यतिबेला लेकमा उक्लिएका गोठलाहरु अब असोज ५ गतेपछि मात्रै बेसी झर्छन् । बर्खाभरी लेकमा बस्ने गोठलाहरुले चार महिनालाई पुग्ने खाद्यान्न र लत्ताकपडा बोकेर जाने गर्छन् ।
लेकमा बस्ने अधिकांश किसानको भेडीगोठ हुन्छ । केहीले गाई र भैँसी पनि लिएर गएका हुन्छन् । बर्खाभरी लेकमा बस्दा पशुको रेखदेखसँगै चोयाबाट बन्ने डोको, नाङ्लो, डाली, मान्द्रो र काठबाट बन्ने सामग्री बनाउने गर्छन् । जसले उनीहरुको आयआर्जनमा टेवा पु¥याएको हुन्छ ।
गोठालाहरु समुन्द्री सतहदेखि चार हजार ८०० मिटरको उचाईसम्म पुगेर गोठ बनाएर बस्ने गर्छन् । ढोरपाटन–९ का तिलबहादुर मगरले यसपाली ढिलो गरी लेक उक्लिए । उनी गत वर्ष उनी असारको ३ गतेनै गर्पाछेडा पुगेका थिए । ६७ वर्षीय मगरले आफू नौ वर्षको उमेरदेखि भेडीगोठसँग लेकबेसी गर्न थालेको बताए । गाउँमा वस्तुभाउ पाल्ने सबै किसानहरु लेक उक्लिसकेको उनको भनाइ छ । बर्खाको समय गाउँ सुनसान हुने भन्दै दसैँ सुरु हुन थालेपछि मात्रै मान्छेहरुको चहलपहल हुने मगरले बताए ।
पहिलेको तुलनामा अहिले पशुपालन गर्नेहरुको सङ्ख्या कम हुँदै गएको उनी बताउँछन् । आफूले लामो समयदेखि पशुपालन गर्दै आएको कतैबाट अनुदान नपाएको मगरले गुनासो पोखे ।
खासगरी किसानहरु रिग, सोलेडाँडा, गर्पाछेडा, टिकाधार, पोखरा, दहखर्क, खानीखोलालगायतका लेकमा पुग्ने गर्छन् । यि क्षेत्रमा पश्चिम बागलुङका मात्रै नभएर रोल्पा, रुकुम, डोल्पाबाट पनि सयौँको सङ्ख्यामा गोठालाहरु भेडा लिएर आउने गरेको निसीखोला गाउँपालिका–६ का पृथराम घर्ती मगरले बताए ।
लेकमा धेरै ठाउँबाट गोठालाहरु आउँदा रमाइलो हुने भन्दै समस्या पर्दा एकले अर्कालाई सहयोग गर्ने उनको भनाइ छ । लेकमा पर्याप्त घाँस हुने हुँदा धेरै जसो गोठालाहरु बर्खाको समय बसीमा नबस्ने घर्ती मगरले सुनाए । उहाँका ५०० बढी भेडाहरु छन् ।
लेकबेसी गरेरै आफ्नो छ दशक बितेको तमानखोलाका गोरबहादुर रसाइलीले बताउनुभयो । दुई महिनाका लागि चाहिने अन्नपात लिएर लेक उक्लिन थालेको उहाँको भनाइ छ । बिरामी नपरे र कुनै समस्या नभए भदौमा मात्रै खर्च लिन घर झर्ने रसाइलीले बताए । गाउँबाट लेक पुग्न झण्डै दुई दिन लाग्ने हुँदा लामो समयका लागि एकै पटक खर्च लिएर जाने गरेको उनी बताउँछन् । -रासस
प्रतिक्रिया