शनिबार, असार १४, २०८२

‘ड्रागन फ्रुट’ खेतीतर्फ आकर्षित हुँदै सुर्खेतका किसान

नेपालखोज २०८२ असार १४ गते १५:५६

सुर्खेत । सुर्खेतमा ड्रागन फ्रुटको सम्भावनाले किसानलाई नयाँ आशा दिएसँगै यहाँका किसान ड्रागन फ्रुट खेतीतर्फ आकर्षित हुँदै गएका छन् । जिल्लामा ड्रागन फ्रुटको सम्भावना देखिएपछि ४५ जना किसानले व्यावसायिक खेती सुरु गरेका हुन् ।

वीरेन्द्रनगर-८ का कृष्ण अधिकारीले चार वर्षदेखि ड्रागन फ्रुटखेती गर्दै आएका छन् । कोरिया पढ्न गएका अधिकारी पढाइ सकेर नेपाल फर्केपछि काठमाडौंमा कोरियन भाषा पढाउन सुरु गरे पनि उनीलाई आफ्नै माटोले तान्यो । कृषि पेसामा केही गर्छु भन्ने याृजनासहित उनले ड्रागन फ्रुटको खेती सुरु गरेका थिए ।

अहिले अधिकारीको आम्दानीको स्रोत ड्रागन फ्रुट बनेको छ । करिब ४० लाख लागत लागेको बताउँदै उनले ड्रागन फ्रुट, कुरिलो, फूल र मौरीपालन गरेको जानकारी दिए । अधिकारीले वीरेन्द्रनगर-११ ग्रागेतालमा २३ कट्ठा जमिन भाडामा लिएर कर्णाली ड्रागन कृषि तथा पशुपक्षी फार्म दर्ता गरी व्यावसायिक खेती सुरु गरेका छन् । उनले २० कट्ठामा ड्रागन र बाँकीमा जग्गामा कुरिलो, फूल र मौरीपालन गर्दै आइरहेको बताए ।

सुरूवातमा ७५० पोलमा तीन हजार ड्रागनका बिरुवा लगाएको जनाउँदै अधिकारीले फार्ममा हाल नौ सय पोलमा तीन हजार ६०० बेर्ना उत्पादनमूलक बनेका बताए । बिरुवाले एक वर्षमा उत्पादन दिने हुँदा लगानी छिटो उठ्ने उनको भनाइ छ ।

उनले भारतबाट ‘सियाम रेड’ जातका ड्रागनका बेर्ना ल्याएर खेती सुरु गरेका थिए । वार्षिक रु एक लाख भाडा तिर्ने उक्त जमिन अहिले अधिकारीको आम्दानीको स्रोत बनेको छ । ड्रागनको उत्पादन जेठदेखि मङ्सिरसम्म हुने गर्दछ । कोपिला आएको ३५ दिनमा फल बजार पठाउन सकिन्छ ।

यो वर्ष पहिलो सिजनमा एक सय ५० किलो फल उत्पादन भइसकेको अधिकारीले जानकारी दिए । ‘दोस्रो सिजनको फल बजार पठाउन सुरु भइसकेको छ । यस सिजनमा २० क्वीन्टलभन्दा बढी उत्पादन हुने अनुमान छ’, उनले भने ।

गत वर्ष ६० क्वीन्टल फल बिक्री गरेर २२ लाख रुपैयाँ आम्दानी गरेको अधिकारीले जानकारी दिए । यस वर्ष उत्पादन बढेर एक सय क्वीन्टल पुग्ने अनुमान गरिएको भन्दै करिब ३० लाख रुपैयाँको कारोबार हुने अपेक्षा गरिएको उनले उल्लेख गरे ।

ड्रागनसँगै उनले कुरिलो खेती गरेका छन् । चैतदेखि भदौसम्म फल दिने यो वनस्पति एकपटक लगाएपछि १० वर्षसम्म उत्पादन दिन्छ । यस वर्ष मात्रै कुरिलो बिक्री गरेर उनले ६० हजार रुपैयाँ आम्दानी गरेको बताए । कुरिलो प्र्रतिकलिो छ सय रुपैयाँमा बिक्री हन्छ ।

मौरीपालन सुरु गर्न परीक्षणमा तीन घार मौरी राखेको बताउँदै अधिकारीले यस वर्ष मौरीको घार विस्तार गरी ६० वटा पुर्याउने योजना रहेको जानकारी दिए ।

कृषिमा आत्मनिर्भर हुँदै जानुभएको अधिकारीले फार्ममा एक जनालाई स्थायी रोजगारी पनि दिएका छन् । उनीलाई मासिक १७ हजार रुपैयाँ तलब दिने गरेको अधिकारीले बताए । उनका अनुसार ड्रागन र कुरिलोका बिरुवा उत्पादन र बिक्रीबाट वार्षिक मात्र एक लाख ५० हजार रुपैयाँ आम्दानी हुने गरेको छ ।

अधिकारी जस्तै वीरेन्द्रनगर-१२ की पद्मा रावत ड्रागन फ्रुटको खेतीमा रमाउन थाल्नुभएको पाँच वर्ष भयो । विसं २०७७ मा मालिका कृषि तथा ड्रागन फ्रुट फार्म स्थापना गरी श्रीमान् वीरबहादुर बुढा र उनीले खेती गर्ने योजना बनाएका थिए । विसं २०७७ चैतमा बिरुवा लिन भारतको गुजरात पुगे ।

त्यतिबेला कोरोना सङ्क्रमण महामारीका रूपमा फैलिएको थियो । कोरोनाका कारण वीरबहादुरको विसं २०७८ वैशाख १७ गते मृत्यु भएपछि रावतले व्यवसायलाई निरन्तरता दिँदै आएका हुन् ।

रावतले छ सय ५० पोलमा दुई हजार ६०० बिरुवाबाट सुरु गरेका ड्रागन फ्रुटको खेती अहिले एक हजार ४०० पोलमा पाँच हजार ६०० बिरुवा पुगेका छन् । वार्षिक रु तीन लाख तिर्नेगरी जग्गा १५ वर्षका लागि सम्झौता गरी भाडामा लिएको उनले जानकारी दिए ।

वर्षमा छ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको रावतले जानकारी दिए । उनले फार्ममा तरकारी, फूलका बेर्ना लगाउनुका साथै कुखुरा र बाख्रापालन पनि गर्दै आएका छन् ।

कर्णाली ड्रागन उत्पादन महासङ्घ, कर्णाली प्रदेशका अध्यक्ष महेन्द्र खनालले पछिल्लो समय सुर्खेतका किसान ड्रागन खेतीतर्फ आकर्षित हुन थालेका बताए । उनका अनुसार अहिले सुर्खेतमा ४५ जना किसानले ड्रागन फ्रुटको खेती गर्दै आइरहेका छन् । उनका अनुसार करिब ७० हेक्टर क्षेत्रफलमा ड्रागन फ्रुटको खेती भइरहेको छ ।

खनालका अनुसार हाल उत्पादन भएका ड्रागन सुर्खेतमा बिक्री हुनुका साथै नेपालगञ्ज र काठमाडौंसम्म पठाइने गरिएको छ । सरकारी तथा निजी क्षेत्रको सहकार्यमा बजार पहुँच, भण्डारण सुविधा र प्रविधिको पहुँच सुनिश्चित गरिएमा ड्रागन फ्रुट खेतीले कर्णाली प्रदेशको कृषि व्यवसायलाई नयाँ उचाइमा पु¥याउन सक्ने अध्यक्ष खनालले बताए । रासस

प्रतिक्रिया