युक्रेनको ओडेसामा रूसी ड्रोन आक्रमण, दुई जनाको मृत्यु, १४ घाइते

काठमाडौं । युक्रेनको ओडेसा क्षेत्रमा शुक्रबार राति भएको रूसी ड्रोन आक्रमणमा दुई व्यक्तिको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्, जसमा बालबालिका पनि समावेश छन् ।
ओडेसाका गभर्नर ओलेग किपरले टेलिग्राममार्फत जानकारी दिँदै ‘आवासीय भवनमा भएको यस आक्रमणबाट उद्धारकर्ताले दुई जना नागरिकको शव निकाल्न सफल भएका छन्,’ बताए । उहका अनुसार घाइतेमध्ये तीनजना बालबालिका रहेका छन्, जसको अवस्था सार्वजनिक गरिएको छैन ।
यसैबीच, युक्रेनको दक्षिणी खेरसोन क्षेत्रमा पनि पछिल्लो २४ घण्टामा रूसी आक्रमणका कारण एक व्यक्तिको ज्यान गएको र तीन जना घाइते भएको पुष्टि भएको छ । खेरसोनका गभर्नर ओलेक्जान्द्र प्रोकुडिनले रूसी सेनाले सामाजिक तथा महत्वपूर्ण पूर्वाधार र बस्ती क्षेत्रहरूलाई निशाना बनाएको जानकारी दिए ।
सन् २०२२ देखि जारी द्वन्द्वले युक्रेनमा ठूलो मानवीय क्षति पुर्याउँदै आएको छ । लाखौं मानिस विस्थापित भएका छन् भने हजारौंको ज्यान गइसकेको छ ।
शान्ति स्थापनाको लागि अमेरिकाको पहलमा सुरु गरिएका वार्ता प्रक्रा हाल स्थगित छन् । रुसले युक्रेनलाई भूभाग सुम्पिनुपर्ने र पश्चिमी सैन्य सहायता त्याग्नुपर्ने शर्त राखेको छ, जुन युक्रेनी पक्षका लागि स्वीकार्य छैन । रासस
प्रतिक्रिया