आइतबार, असार १५, २०८२

पाखाबारीमा लोभलाग्दो केराखेतीः १५ लाखसम्म आम्दानी

नेपालखोज २०८२ असार १५ गते ७:४८

बेनी (म्याग्दी) । बेनी नगरपालिका–९ घतान काउलेगौँडाका ४० वर्षीय युवा प्रकाश खत्री केराखेतीबाट स्वरोजगार र आत्मनिर्भर बनेका छन् । वैदेशिक रोजागरका सिलसिलामा दुबईमा तीन वर्ष काम गरेर फकिएका खत्री गाउँमै रहेको खेतबारी र पाखापखेरामा केराखेती गरेर आकर्षक आम्दानी गर्न सफल भएका हुन् । सुरुमा तीन रोपनीमा केराखेती गरेका खत्रीले लगाएका बोटले आम्दानी दिन थालेपछि केराको व्यावसायिक खेतीमा लागेका थिए ।

अहिले मेरो सबै जग्गामा केराखेती छ, करिब २५ रोपनीमा केराखेती विस्तार गरेको छु, वार्षिक रूपमा १० देखि १५ लाख केराबाट आम्दानी हुन्छ, नयाँ बोटले उत्पादन दिन थाल्यो भने आम्दानी पनि बढ्ने अनुमान गरेको छु, खत्रीले भने । परम्परागत रूपमा धान रोप्ने खेत र मकै, कोदोलगायत अन्नबाली लगाउने बारीमा खत्रीले व्यावसायिक केराखेती लगाएका छन् ।

केराखेतीका लागि आवश्यक पर्ने मलका लागि कुखुरापालन पनि गरेका खत्रीले परम्परागत खेतीबालीलाई व्यावसायिक बनाउने र परिश्रम गर्न सकेमा स्वदेशमै पनि आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् । उनका चारवटा केराखेतीको बगान छन् । काउलेगौँडामा विगत एक दशकयता केराखेतीको लहर चलेको हो । यहाँका करिब एक सय ५० घरपरिवार सबैले केराखेती गरेका छन् । काउलेगौँडाको थाकन, गौउथले, मुलबारी, पाटारुख, बराहथान तुसारेलगायत क्षेत्रमा केराखेतीको व्यावसायिकता बढेको छ ।

यस गाउँमा रुद्र चोखाल, दीपक खड्का, ओमकार पुरी, सोम केसी, भगवती बस्नेत, रुद्रबहादुर बस्नेतलगायतले केराको व्यावसायिक खेती गरेका छन् । काउलेगौँडाका विभिन्न टोलबस्तीमा करिब चार सय रोपनीमा केराखेती विस्तार भएको काउलेगौँडा कृषि समूहका अध्यक्ष पुन्य चोखालले जानकारी दिए ।

अध्यक्ष बस्नेतले समेत साढे पाँच रोपनी बढी जग्गामा केराखेती गरेका छन् । उनका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ मा बेनी नगरपालिकाको केरा पकेट क्षेत्र विस्तार कार्यक्रमअन्तर्गत काउलेगौँडामा एक सय २० रोपनी जग्गामा तीन हजार पाँच सय हजारी जातको नयाँ बिरुवा लगाइएको छ ।

पच्चीस जना किसान आबद्ध काउलेगौँडा कृषक समूहले बेनी नगरपालिकाको १२ लाख अनुदान र किसानको रु १२ लाख बराबरको साझेदारीमा एक सय २० रोपनी जग्गामा केराखेती विस्तार गरिएको छ ।

दुईवटा माटे पोखरी र एक ढलान गरेको पक्की सिँचाइ पोखरी निर्माण गरी स्थानीयस्तरमा रहेका मुलको पानीलाई जम्मा गरेर तीन हजार पाँच सय मिटर पाइप लाइन विस्तार गरेर केराखेती भएको ठाउँमा सिँचाइको बन्दोबस्त मिलाइएको समूहका अध्यक्ष चोखालले बताए । पकेट क्षेत्र विस्तार कार्यक्रमअन्तर्गत भर्याङ, सिकेचरलगायतका कृषि औजार र उपकरणसमेत खरिद गरी वितरण गरिएको छ । यहाँ हजारी, धुर्से र मुर्रे जातका केराखेती हुँदै आएको छ ।

प्रतिक्रिया