सोमबार, असार १६, २०८२

उच्चस्तरीय छानविन आयोग गठन गर्नुपर्ने माग, विरोध रास्वपा र कांग्रेस सांसदबीच आरोप-प्रत्यारोप

नेपालखोज २०८२ असार १५ गते १४:४३

काठमाडाैं । भजिट भिसा प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय छानविन आयोग गठन गर्नुपर्ने माग राख्दै विरोध गरिरहेको रास्वपा र कांग्रेस सांसदबीच प्रतिनिधिसभा बैठकमा आरोप-प्रत्यारोप भएको छ ।

आइतबार बसेको बैठकमा रास्वपा सांसद डिपी अर्याल र कांग्रेस सांसद रामहरि खतिवडाबीच आरोप-प्रत्यारोप भएको हो । बैठक सुरु हुने बितिकै रास्वपा र राप्रपाका सांसदहरु उठेर विरोध जनाएका थिए ।

त्यसपछि सभामुख देवराज घिमिरेले रास्वपा सांसद डिपी अर्याललाई बोल्न समय दिएका थिए । सांसद अर्यालले यसअघिको बैठकमा कांग्रेस सांसद रामहरि खतिवडाले झुठा आरोप लगाएको भन्दै आपत्ति जनाए । सुमिरे टुर्स एण्ड ट्राभल्स आफ्नो कम्पनी भएको भन्दै अर्यालले एक जना मान्छे भिजिट भिसामा बाहिर गएर नफर्केको प्रमाण दिन चूनौति दिए ।

उहाले आफु देशमा नै केहि गरेर खाने मान्छे भएको र चोरेर खाने मान्छे नभएको जिकिर गरे । आफुमाथि लगाइएको आरोप निराधार भएको भन्दै उहाले संसद्को रेकर्डबाट खतिवडाको अभिव्यक्ति हटाउन माग गरे ।

अर्यालले बोलेपछि कांग्रेस सांसद खतिवडाले आफुले कुनै सांसदको नाम किटान नगरेको भन्दै चोरको खुट्टा काट भन्दा झिकेजस्तो देखिएको बताए । कुनै पनि संस्थालाई छानविन गर्नुपर्छ भन्दा संसद थर्काउने काम भएको भन्दै उहाले आपत्ति जनाए । खतिवडाले २०९ वटा म्यानपावरलाई अवैध रुपमा अनुमति दिनेमाथि पनि छानविन हुनुपर्ने उल्लेख गरे ।

उहाले डिपी अर्यालको शव्द रेकर्डबाट हटाउन माग गर्नुभयो । दुई सांसदले बोलेपछि सभामुख घिमिरेले जिम्मेवार ढंगले सदनमा बोल्न आग्रह गरे । सदनमा गैर संसदीय भाषा प्रयोग गर्ने र एक अर्कामाथि नामै किटान गरेर बोल्ने कुरा उचित नभएको उहाको भनाइ छ । त्यसपछि रास्वपा र राप्रपाका सांसदहरुले सदन बहिष्कार गरेका थिए ।

प्रतिक्रिया