सोमबार, असार १६, २०८२

‘नागरिक उड्डयन प्राधिकरणको संरचनागत सुधार जरुरी’

नेपालखोज २०८२ असार १६ गते ६:१६

काठमाडौं । मुलुकको हवाई क्षेत्रलाई व्यवस्थित र सुरक्षित तुल्याउन संस्थागत संरचना सुधारेर सेवालाई चुस्त बनाइनुपर्नेमा विज्ञ एवं सरोकारवालाहरुले जोड दिएका छन् । उनीहरुले हालको अवस्थामा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई विभाजन भन्दा पनि संस्थागत सुधारको खाँचो औंल्याए ।

प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा नेपाल सरकारका पूर्वसचिव किशोर थापाले क्यानको संरचनागत सुधार गरेर जानुपर्ने खाँचो औंल्याए । फ्रान्सलगायत विश्वका अन्य मुलुकमा पनि ‘अथ्योरिटी बडी‘ एउटै रहेको उदाहरण प्रस्तुत गर्दै नेपालको सन्दर्भमा दुई अलग निकाय बनाउन जरुरी नरहेको बताए ।

नेपाल हवाई सेवा प्राधिकरण विधेयकमा गैरसैनिक हवाई उडान ऐन, २०१५ को प्राबधान केही पनि उल्लेख नगरेर त्रुटी गरेको उनले दाबी गरे । क्यानका पूर्वमहानिर्देशक रतिश चन्द्रलाल सुमनले अलग–अलग निकाय बनाउँदैमा हवाई सुरक्षाप्रणालीमा सुधार आउन नसक्ने जिकिर गरे ।

विस २०८१ माघ १९ गते प्रतिनिधिसभामा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ दर्ता भएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले समितिका सदस्यहरुले हवाई सुरक्षालाई राम्रो बनाउन के कस्ता उपायहरु अबलम्बन गर्न सकिन्छ भनेर विज्ञहरुसँग जिज्ञाशा राखेका थिए । -रासस

प्रतिक्रिया