किसानको आयआर्जन बढाउन बिरुवा वितरण

भोजपुर । वन क्षेत्रको विकाससँगै किसानलाई उद्यममा जोड्न जिल्लामा साढे आठ हजार बढी बिरुवा वितरण गरिएको छ ।यहाँका किसानलाई आयआर्जनमा जोड्ने लक्ष्यले डिभिजन वन कार्यालयले दाँते ओखर, टिमुर, रुद्राक्षलगायतका बिरुवा वितरण गरेको हो ।
किसानलाई वन उद्यममार्फत आयआर्जनमा जोड्न, तीन हजार दुई सय दाँते ओखर, एक हजार छ सय टिमुर, एक हजार एक सय सतुवा, एक÷एक हजार वटा रुद्राक्ष र तेजपत्ता र पाँच सय ५० लोड सल्लाको बिरुवा वितरण गरिएको डिभिजन वन कार्यालयका वन अधिकृत कपिलदेव अधिकारीले जानकारी दिए ।
जिल्लाका किसान, कृषि तथा जडीबुटी फर्म, वन समूह तथा विभिन्न संस्थालाई मागका आधारमा बिरुवा वितरण गरिएको हो । हरित क्षेत्रको विकासँगै किसानलाई आर्थिक रुपमासमेत टेवा पु¥याउने लक्ष्यले विभिन्न कार्यक्रममार्फत किसानलाई बिरुवा वितरण गरिरहेका अधिकृत अधिकारीको भनाइ छ ।
दिङ्ला, याकु, बालाङखा र जिल्लामा सञ्चालनमा रहेका नर्सरीबाट असार र साउन महिनामा ८० हजार बिरुवा वितरण गर्ने लक्ष्य रहेको उहाँले जानकारी दिए । राष्ट्रिय वृक्षरोपण दिवश २०८२ तथा विश्व वातावरण दिवसको अवसरमा पौवादुङमा गाउँपालिका तथा विभिन्न स्थानमा बिरुवा रोपण कार्यक्रम भइरहेको कार्यालयले जनाएको छ ।
स्थानीय सामुदायिक वन उपभोक्ता समूह, वन पैदावार व्यवसायी सङ्घ, सरोकारवाला, संस्थाका प्रतिनिधिको सहभागितामा भोजपुर नगरपालिका– ५ मा रहेको भकिम्ले सामुदायिक वनमा वृक्षरोपण गरिएको हो । यो कार्य निरन्तर रुपमा अघि बढाइने कार्यालयको भनाइ छ । -रासस
प्रतिक्रिया