करिब दुई रोपनी जमिनमा लगाइएको काँक्रोखेतीबाट साढे दुई लाख आम्दानी

रामपुर । पाल्पा रामपुरका दिलबहादुर थापा र लालबहादुर थापाले यसपटक काँक्रोखेतीबाट मनग्य आम्दानी गर्न सफल भएका छन् । काँक्रोबाट छोटो समयमा नसोचेको आम्दानी भएपछि उनीहरु उत्साहित बनेका छन् ।
काममा निरन्तरको मेहेनत र व्यवसायमा आउने उतारचढावमा धैर्य गर्न सकियो भने राम्रै आयआर्जन गर्न सकिन्छ भन्ने थापा दाजुभाइले उदाहरण प्रस्तुत गरेका छन् ।
करिब दुई रोपनी क्षेत्रमा लगाइएको कर्मा जातको काँक्रोका स्वादले ग्राहकको मन जित्न सफल भएको छ । बिरुवा लगाएको दुई महिनाभित्र करिब रु दुई लाख ५० हजार बढी आम्दानी भएपछि व्यवसायमा थप हौसला बढेको दिलबहादुरले बताए ।
गत वैशाख ९ गते लगाएको बिरुवाले हालसम्म उत्पादन लेखाजोखा गर्दा चार हजार किलोभन्दा बढी काँक्रो बिक्री गरेको उनीहरु बताउँछन् । जेठ–असारमा रामपुर क्षेत्रमा काँक्रोको माग राम्रो खपत हुने भएकाले यहीँ समयलाई मध्यनजर गर्दै खेती गरिएको उनीहरुको भनाइ छ ।
बिरुवा लगाएको ३५ दिनबाट उत्पादन बिक्री गर्न थालेको लालबहादुरले जानकारी दिए । प्रतिकिलो रु ७० का दरले धमाधम काँक्रो बिक्री गरेर राम्रो आम्दानी भित्रिएको उनी बताउँछन् ।
वैदेशिक रोजगारीबाट फर्केर कृषि व्यवसायमा आबद्ध थापा दाजुभाइले जग्गा भाडामा लिएर खेती गरिरहेका छन् । रामपुर नगरपालिका–४ स्थित देवीस्थानमा इँटाभट्टा उत्पादन गरेर छाडिएको पत्थरिलो जग्गालाई खेतीयोग्य जमिनमा परिणत गराएर थापा दाजुभाइले तरकारीखेती सुरु गरेका हुन् । सो पत्थरीलो जग्गामा ‘हाम्रो आधुनिक कृषिफार्म’को नाममा फामै दर्ता गरेर युवाले हराभरा तरकारी फलाएको देख्दा यहाँका स्थानीयवासी दङ्ग छन् ।
थापा दाजुभाइको व्यवसाय अवलोकन तथा तरकारी लगाउने नयाँ प्रविधि, बीउबिजन, बजारीकरणलगायतका ज्ञान सीप सिक्न जानेको चहलपहल हुन थालेको छ । व्यापारी तथा ग्राहक पनि फार्ममै पुगेर तरकारी खरिद गर्ने गर्छन् । युवाले सुरु गरेको यो फार्म हिजोआज कृषि सिकाइ केन्द्रजस्तै बनेको छ ।
उनीहरूको व्यवसायको सिको गर्दै कृषि व्यवसायमा युवाको आकर्षण बढेको छ । समयअनुसार व्यवसाय गर्न सकियो भने बजारको समस्या नपर्ने व्यवसायीको अनुभव छ । रामतुलसी नमूना माध्यमिक विद्यालय रामपुरमा अध्ययनरत कृषि बाली विज्ञान विषयका विद्यार्थी पनि बेलाबेलामा आफ्नो विषयसँग सम्बन्धित शिक्षणका लागि यहाँ आएर प्रयोगात्मक सिकाई आर्जन गरिरहेका हुन्छन् ।
प्रतिक्रिया