अमलाचौरको रुम्टा गाउँका १६ घरमा लिफ्टमार्फत खानेपानी पहुँच

गलकोट (बागलुङ) । तीन महिना अघिसम्म खानेपानी बोकेर घरमा ल्याउँदै आएको जिल्लाको बागलुङ नगरपालिका–१२ अमलाचौरको रुम्टा गाउँकी चित्रदेवी सापकोटा अहिले घरमै खानेपानीको सुविधा हुँदा दङ्ग छन् ।
खानेपानीको अभाव आजको नभएर आफूले जान्दादेखिको बताउँदै घरमुनिको मूलको पानी लिफ्टमार्फत घरमा पुुग्दा सपनाजस्तै भएको छ चित्रदेवीलाई । रुम्टा बस्तीभन्दा तलमात्र खानेपानीको स्रोत भएकाले वर्षौँदेखि खानेपानी बोकेर प्रयोग गर्दै आएको सापकोटाको घरमा खानेपानीको धारा खसेको तीन महिना भयो ।
बस्तीमाथि खानेपानीको स्रोत नहुँदा वर्षौँदेखि खानेपानीको पहुँचबाट बाहिर रहेको यहाँको १६ घरमा लिफ्टमार्फत खानेपानी पुर्याइएको छ । चार बजे उठेर गाग्रीको लाइन लाग्नुपर्दथ्यो, बस्तीभन्दा माथि मुहान भएपो घरमा आउँथ्यो, बस्तीभन्दा तल गहिरो जोत्नेमा मूल छ, उनले भने, अहिले त विद्युत् मोटरले तानेपछि पानीमाथितर्फ आउँदोरहेछ, घरमै खानेपानीको धारा आउँदा हामी दङ्ग परेका छौँ, खानेपानीकै अभावले भारत बस्दै आएका थियाैँ, अहिले खानेपानी आएपछि गाउँमा फर्केर आएका छौँ । खानेपानीकै कारण उजाडिएको गाउँ पुनः हरीयाली बन्न थालेको छ ।
सापकोटा दम्पतीजस्तै छिमेकीसमेत खानेपानीको धारा घरमा आएपछि गाउँमा बसाइँ गर्न थालिएको छ । गाउँका घर कटेरा बनाउनसमेत पानी बोकेर ल्याइएको स्मरण गर्दै सापकोटाले लिफ्टमार्फत बस्तीमुनिको पानी बस्तीभन्दा माथि आउला भन्ने आफूले कल्पना नगरेको जानकारी दिए ।
सानो बस्ती भएकाले खानेपानीमा निकै पछि परे पनि अहिले बल्ल लिफ्टमार्फत घरघरमा खानेपानी आएको छ । ३० लाख खर्चेर १०० मिटरभन्दा माथि बस्तीमा खानेपानी पुर्याइएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका इञ्जिनियर सागर अधिकारीले बताए । अधिकारीले अत्यन्तै खानेपानीको समस्या भोगेको गाउँ भएकाले १६ घरमा खानेपानीको धारा पुर्याउन ३० लाख खर्चिएको बताए । खानेपानी संस्था दर्तापश्चात विद्युत् महसुल भने गण्डकी प्रदेश सरकारले सहुलियतमा प्रदान गर्नेछ ।
बाइस वर्षदेखि बजारमा व्यवसाय गर्दै आउनुभएको यदुनाथ सापकोटाले गाउँमा खानेपानीको समस्या देखेर आफूले सहर छाडेर खानेपानी आयोजनाको उपभोक्ता समितिको अध्यक्ष बनेर काम गरेको बताए । उपभोक्ता समितिका अध्यक्ष सापकोटाले भने, खानेपानीका कारण २२ वर्षपछि म गाउँ फर्केँ, अन्य छिमेकीसमेत फर्कने आस छ, नगरपालिकाभित्रको विकसित वडामा खानेपानीले पछि परेको रुम्टा गाउँमा घरघरमै धारा आएको छ, अब त खानेपानी बोक्ने समस्या सदाका लागि अन्त्य भएको छ ।
स्थानीय डिलबहादुर सापकोटाले अहिलेको जमनामा पनि खानेपानी बोकेर ल्याउनुपर्ने अवस्थाको अन्त्य भएको भन्दै खुसी व्यक्त गरे । गहिरी जोत्ने लिफ्ट खानेपानी योजनाअन्र्तगत १६ घरमा खानेपानी पुर्याइएको छभने अमलाचौर स्वास्थ्यचौकी नजिकैको धोलेचौर गाउँमा खोल्सीधारा धोलेचौर लिफ्ट आयोजनाअन्तर्गत ३० घरमा पनि खानेपानी पुर्याउने काम अन्तिम चरणमा पुगेको हो ।
सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको संयुक्त लगानीमा निर्माण भइरहेको उक्त योजना अहिलेसम्म ७० प्रतिशत भौतिक प्रगति भएको इञ्जिनियर अधिकारीले जानकारी दिए । उक्त लिफ्ट खानेपानी योजनाका लागि दुई कार्यालयको झण्डै ३२ लाख खर्च हुनेछ ।
उक्त खोल्सीधारा धोलेचौर लिफ्ट आयोजनाअन्तर्गत ३० घरमा खानेपानी पुर्याउन मुहानबाट एक सय मिटरभन्दा माथि पानी तान्ने काम असारसम्म पुग्ने र आगमी आर्थिक वर्षको सुरुमै घरघरमा धारा पुर्याउने लक्ष्य खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको छ ।
प्रतिक्रिया