१८ करोडको लागतमा तटबन्ध निर्माण

मुस्ताङ । कालीगण्डकी नदी सतहको उकासले हिमाली जिल्ला मुस्ताङको एक दर्जन तटीय बस्ती उच्च जोखिममा परेको छ । कालीगण्डकी नदीको तटीय क्षेत्रमा ढुङ्गा, गिट्टी, बालुवा र गेग्र्यानले बर्सेनि नदी उकास वृद्धि हुँदै जाँदा यहाँका तीन पालिकाका अधिकांश तटीय बस्तीले वर्षौंवर्षदेखि विपद् जोखिमको सामना गर्दै आइरहेका छन् ।
मुस्ताङस्थित कालीगण्डकी नदी क्षेत्रको तटीय बस्ती तथा खेतीयोग्य जग्गा सरक्षणका लागि सङ्घीय सरकारको विशेष अनुदानबाट बहुवर्षीय बृहत् कालीगण्डकी नदी नियन्त्रण योजना हालै सम्पन्न भएको छ । यहाँको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-३ छुसाङदेखि घरपझोङ हुँदै थासाङ गाउँपालिका-३ लेते धम्पुसम्मको करिब ६५ किलोमिटर दूरीमा एक दर्जन तटीय बस्ती जोगाउन कालीगण्डकी बृहत् तटबन्ध निर्माण गरिएको हो ।
सङ्घीय योजनाअन्तर्गत खानेपानी, जलस्रोत तथा सिँचाइ सबडिभिजन कार्यालय मुस्ताङले कार्यान्वयन गर्ने गरी यहाँको एक दर्जन बढी तटीय बस्ती जोगाउन तीन हजार ४१० मिटर लामो विभिन्न प्रकृतिको तटबन्ध निर्माण गरिएको हो । यसका लागि मुस्ताङको वारागुङ-३ छुसाङदेखि घरपझोङ-३ स्याङसम्मको प्याकेज एक र मुस्ताङको घरपझोङ-२ मार्फादेखि थासाङ-३ लेते धम्पुसम्मको प्याकेज दुईको एउटै निर्माण कम्पनीले तटबन्ध निर्माणसम्पन्न गरेको खानेपानी, जलस्रोत तथा सिँचाइ सबडिभिजन कार्यालयका प्रमुख सञ्जय कोइरालाले जानकारी दिए ।
कालीगण्डकी बस्ती संरक्षणका लागि कालीगण्डकी नदी नियन्त्रण योजनाको सम्झौताअनुसार ग्याबिन, आरसिसी, प्लम्प कङ्क्रिट र ठूल्ठूला ढुङ्गा बिच्छ्याएर बिग बोल्डिङ स्टेकिङ तटबन्ध निर्माण गरिएको कार्यालय प्रमुख कोइरालाले उल्लेख गरे । यहाँस्थित कालीगण्डकी तटीय बस्ती संरक्षणका लागि पहिलो र दोस्रो प्याकेज गरी दुवैको अमित बिल्डर्सले ठेक्का पाएको थियो ।
प्याकेज एकअन्तर्गत मुस्ताङको छुसाङदेखि घरपझोङ-३ स्याङसम्मको दूरीमा तटबन्ध निर्माण गर्न रु नौ करोड १२ लाख लागतमा विसं २०८१ असार ३ मा अमित बिल्डर्सले ठेक्का सम्झौता गरेको थियो । यहाँ शत्प्रतिशत भौतिक प्रगति भएको छ भने वित्तीय प्रगति ९८ दशमलव ७९ प्रतिशत रहेको कार्यालय प्रमुख कोइरालाले जानकारी दिए ।
कालीगण्डकी तटीय बस्ती संरक्षणका लागि प्याकेज एकअन्तर्गत वारागुङ मुक्तिक्षेत्रको छुसाङमा २३१ मिटर, तिरीमा ५२२ मिटर, एक्लेभट्टीमा २६५ मिटर, पान्डा खोलामा ६० मिटर र घरपझोङ–३ स्याङको कालीगण्डकी तटमा ५४९ मिटर गरी एक हजार ६२७ मिटर लामो तटबन्ध निर्माणसम्पन्न भएको कार्यालय प्रमुख कोइरालाले बताए ।
यसैगरी, सङ्घीय योजनाअन्तर्गत खानेपानी, जलस्रोत तथा सिँचाइ सबडिभिजन कार्यालयले प्याकेज दुईको बृहत् तटबन्ध निर्माणसम्पन्न भइसकेको जनाएको छ । प्याकेज दुईका लागि अमित बिल्डर्स निर्माण कम्पनीले नौ करोड २६ लाख रूपैयाँ लागतमा तटबन्धको ठेक्का सम्झौता गरेको थियो । प्याकेज दुईमा घरपझोङ-२ मार्फादेखि थासाङ-३ धम्पुसम्मको दूरीमा शत्प्रतिशत भौतिक ९५ दशमलव ९५ प्रतिशत वित्तीय प्रगति भएको प्रमुख कोइरालाको भनाइ छ ।
यहाँस्थित प्याकेज दुई तटबन्ध निर्माण योजनाअन्तर्गत मार्फामा १११ मिटर, टुकुचेमा ७१७ मिटर, खन्तीमा ९०९ मिटर, सौरुमा ६० मिटर, सिर्खुममा २४६ मिटर, कोखेठाँटीमा २४४ मिटर, छाक्ताङमा १७१ मिटर र थासाङको धम्पुमा ४२ मिटर गरी कुल एक हजार ७८३ मिटर लामो तटबन्ध निर्माणसम्पन्न भएको कार्यालय प्रमुख कोइरालाले बताए ।
कालीगण्डकी नदी नियन्त्रण योजनाअन्तर्गत सदरमुकाम जोमसोममा अन्य सरकारी निकायले तटबन्ध निर्माण गरिसकेकाले यस कार्यालयबाट तटबन्ध निर्माण योजनामा समावेश नभएको कार्यालय प्रमुख कोइरालाले स्पष्ट पारे ।जोमसोममा राष्ट्रिय योजना आयोगको बजेटबाट घरपझोङ गाउँपालिकाले कार्यान्वयन गर्नेगरी यसअघि नै तटबन्ध निर्माण गरिसकेको छ ।
यसैगरी, सङ्घीय सरकारको सिँचाइ विभाग नदी नियन्त्रण महाशाखाअन्तर्गत जोमसोम बजार संरक्षणका लागि नदी नियन्त्रण तटबन्ध निर्माण अन्तिम चरणमा पुगेको छ ।
यस्तै, जोमसोम विमानस्थल संरक्षणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले कालीगण्डकी नदीमा विमानस्थल संरक्षणका लागि आवश्यक आरसिसी तटबन्ध निर्माण गरिसकेको छ । रासस
प्रतिक्रिया