मंगलबार, असार १७, २०८२

दुई हजार बढी परिवारलाई नि:शुल्क ‘मिटरबक्स’

नेपालखोज २०८२ असार १७ गते १२:३६

चितवन । पूर्वी चितवनका कालिका र राप्ती नगरपालिकाका पहाडी भेगमा बसोबास गर्ने विपन्न समुदायलाई नि:शुल्क विद्युत्को ‘मिटरबक्स’ वितरण गर्न थालिएको छ ।

नेपाल विद्युत् प्राधिकरण टाँडी वितरण केन्द्रले दुई हजार ४९७ परिवारलाई निःशुल्क रुपमा मिटरबक्स वितरण गर्न लागेको हो । केन्द्रका प्रमुख राजेन्द्रकुमार चौधरीका अनुसार कालिका-९, १० र ११ का बासिन्दामध्येका विपन्न समुदायलाई मिटरबक्स बाँड्न थालिएको छ ।

यसैगरी राप्ती-१०, ११ र १२ का विपन्न समुदायलाई मिटरबक्स वितरण गर्न निवेदन आह्वान गरिएको छ । कालिका नगरपालिकामा १९५ परिवारलाई मिटरबक्स वितरण गरिएको उनले जानकारी दिए । अन्यलाई क्रमशः वितरण गर्दै जाने उहाँको भनाइ छ ।

मिटरबक्स जडान गर्दा आवश्यक पर्ने मिटर, तार र एमसिबीसमेत निःशुल्क प्रदान गरिएको छ । चौधरीका अनुसार ती दुई पालिकामा मिटरबक्स वितरणका लागि प्राधिकरणले रु एक करोड २० लाख खर्च गर्दैछ । यसरी वितरण गर्न लागिएका मिटरबक्स पाउने अधिकांश चेपाङ समुदायका रहेका छन् ।

उनीहरुले मासिक २० युनिटसम्म विद्युत् खपत गर्दा ३० रूपैयाँ तिर्नुपर्ने हुन्छ । लक्षित वर्गलाई यथासक्य छिटो मिटरबक्स जडानका लागि पहल गरिदिन वडाअध्यक्षमार्फत सहजीकरणका लागि अनुरोध गरिएको उनले बताए ।

रितपूर्वक प्राप्त निवेदनपश्चात् मिटरबक्स जडान गरिनेछ । यसअघि इच्छाकामना गाउँपालिकाको पहाडी भूभागमा बसोबास गर्नेलाई मिटरबक्स नि:शुल्क वितरण गरिएको थियो ।

प्रतिक्रिया