बुधबार, असार १८, २०८२

स्वास्थ्य सेवाका लागि आवश्यक बजेट विनियोजन भएको छ : मन्त्री पाण्डे

नेपालखोज २०८२ असार १७ गते १९:०५

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीकातर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले स्वास्थ्य सेवामा सर्वव्यापी पहूँच पुर्‍याउने लक्ष्य, स्वीकृत आवधिक योजना र प्रगतिलाई कायम गर्न प्रभावकारी कार्यक्रमको निरन्तरता र नविनतम कार्यक्रमका लागि आवश्यक बजेट विनियोजन गरिएको बताएका छन् ।

राष्ट्रियसभामा विनियोजन विधेयक २०८२ अन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले स्वास्थ्य तथा जनसङ्ख्या क्षेत्रमा नेपाल सरकारले पक्ष राष्ट्र भई जनाएका दिगो विकास लक्ष्य आदि अन्तरराष्ट्रिय प्रतिबद्धता पूरा गर्न आवश्यक बजेट विनियोजन गरिएको स्पष्ट पारे ।

मन्त्री पाण्डेले भने, ‘संविधानले स्वास्थ्य सेवालाई नागरिकको मौलिक हकका रूपमा स्थापित गरेको छ । जस अनुरूप स्वास्थ्य सेवाका सबै अङ्क (स्वास्थ्य प्रवर्द्धनात्मक, प्रतिकारात्मक, उपचारात्मक र पुनःस्थापनात्मक) विशिष्टकृत विधा र उपचार पद्धतिको समूचित विकास तथा विस्तारद्वारा स्वास्थ्य सेवामा पहुँच अभिवृद्धि गर्न गराउने गरी आगामी आवका लागि आवश्यक विनियोजन गरिएको छ ।’

सरकारले आगामी आर्थिक वर्षका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका लागि जम्मा रु ९५ अर्ब ८१ करोड विनियोजन गरिएकोमा सङ्घ सरकारमा ५५ अर्ब ३९ करोड, प्रदेश सरकार ६ अर्ब ५३ करोड र स्थानीय तह ३४ अर्ब ३२ करोड विनियोजन भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीकोतर्फबाट उनले जानकारी दिए ।

सघन जलनको उपचार, मुटु, मिर्गौला प्रत्यारोपण, क्यान्सरलगायत विशिष्टकृत सेवाहरू सातै प्रदेशका एक एक सङ्घीय अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट हुनेगरी व्यवस्था गरिएकोसमेत उनले बताए ।

उनले ठूला सङ्घीय अस्पतालको क्षमता विस्तार गरी स्वास्थ्य सेवा प्रवाहलाई थप विस्तार गर्न अस्पताल पूर्वाधार निर्माण र औँजार उपकरणका लागि बजेट विनियोजन गरिएको जानकारी दिए ।

डेङ्गुरोग नियन्त्रणका लागि राष्ट्रिय एकीकृत कार्ययोजना तयार भई लागू भएको जनाउँदै उहाँले औलो प्रभावित स्थानका लागि लक्षित वर्गका लागि झुल वितरण र घरभित्रै विषादी छिड्काउनेसम्बन्धी निर्देशिका जारी गरी कार्यान्वयनमा ल्याएको जानकारी गराए ।

उनले त्रिवी शिक्षण अस्पताल र वीर अस्पताललगायतका सबै सरकारी अस्पतालको सेवा प्रवाहको गुणस्तर अभिवृद्धि गराउन पेजिङ, अस्पताल नेभिगेशन चार्ट, शल्यक्रियाको पालोको समय घटाउने, अनलाइन टिकट तथा भुक्तानी, एक्से रे फिल्मको व्यवस्था र दुई सिफ्टमा स्वास्थ्य सेवा र अस्पतालमा बिमा सेवाको कडाइका साथ पालना गराइएको पनि जानकारी दिए ।

प्रतिक्रिया