चालीस लाखभन्दा बढीको चिनी नष्ट

पाल्हीनन्दन । यहाँको पाल्हीनन्दन गाउँपालिका–१ स्थित महेशपुर भन्सार कार्यालयले रु ४० लाख १२ हजारभन्दा बढीको चिनी नष्ट गरेको छ ।
चार वर्षअघि बरामद गरिएको चिनी अखाद्य भएको भन्दै आज यहाँको झरही नदी किनारमा खाल्टो खनेर नष्ट गरिएको भन्सार कार्यालय प्रमुख विकास उपाध्यायले जानकारी दिए ।
उनका अनुसार आर्थिक वर्ष २०७८र७९ मा भारतबाट भन्सार छलेर नेपाल भित्र्याइएको ६२ हजार ७०० किलोग्राम चिनी नेपाल प्रहरी र सशस्त्र प्रहरीले विभिन्न स्थानबाट बरामद गरिएको थियो । कार्यालयसँग बजेट अभाव देखाएर चार वर्ष पहिले चिनी नष्ट गर्न नसकिएको जनाइएको छ ।
खाद्य प्राविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले चिनी खानयोग्य नरहेको भनेपछि भन्सारले लिलाम प्रक्रिया अगाडि नबढाएको पनि भन्सार कार्यालयका नायब सुब्बा राजेन्द्रप्रसाद ढुङ्गानाले बताए ।
यस्तै, छिमेकी राष्ट्र भारतबाट अवैध रुपमा ल्याएको रु पाँच लाख ८८ हजार बराबरको ७० बोरा धानको बीउसमेत आज नष्ट गरिएको नायब सुब्बा ढुङ्गानाले जानकारी दिए । -रासस
प्रतिक्रिया