संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको छ : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय सम्बन्ध नेपालको संविधानमा उल्लेखित राष्ट्रिय हितका मूलभूत विषयमा केन्द्रित रही सञ्चालन भइरहेको बताएका छन् ।
राष्ट्रियसभाको असार १५ को बैठकअन्तर्गत विनियोजन विधेयकमाथि भएको छलफलमा सांसदहरूले उठाएका परराष्ट्र मन्त्रालयसँग सम्बन्धित विषयमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवाका तर्फबाट आज जवाफ दिदै उनले यस्तो बताए ।
गृहमन्त्री लेखकले सरकारले संविधानअनुसार स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधीनता, नेपालीको हितको रक्षा, आर्थिक समुन्नति र समृद्धिमा केन्द्रित रही परराष्ट्र नीति सञ्चालन तथा अन्तरराष्ट्रिय सम्बन्ध बिस्तार गरिरहेको उल्लेख गरे ।
मन्त्री लेखकले परराष्ट्र मन्त्रालयले आर्थिक कूटनीतिलाई परराष्ट्र नीतिको एक प्रमुख आधार मानेर विदेशस्थित नियोगहरूलाई व्यापार, वैदेशिक लगानी, वैदशिक सहयोग, पर्यटन तथा प्रविधि प्रवर्द्धनमा सक्रिय बनाउँदै आएको बताए । यसका अतिरिक्त सरोकार भएका निकायहरूसँगको समन्वयमा जलवायु कूटनीतिलाई समेत प्राथमिकतामा राख्दै आइरहेको उनको भनाइ थियो ।
गृहमन्त्री लेखकले राजदूतहरूको नियुक्ति ‘राजदूत नियुक्तिसम्बन्धी निर्देशिका, २०७५’ र प्रचलित नियम कानूनअनुसार भइआएको स्पष्ट पारे । साथै दूतावास तथा नियोगहरूमा हुने अन्य कुटनीतिक नियुक्तिसमेत प्रचलित नियम कानूनबमोजिम गरिँदै आइरहेको ब्यहोरा उनले सुनाए ।
विदेशमा रहेका प्रवासी नेपालीसँगको सम्बन्ध र सहकार्यलाई परराष्ट्र मन्त्रालयले विशेष महत्त्व दिँदै आइरहेको र यस सम्बन्धमा क्रमिक रूपमा आवश्यक कानुनी तथा संरचनागत सुधारका कार्य हुँदै आइरहेको मन्त्री लेखकले जानकारी गराए । -रासस
प्रतिक्रिया