बिहीबार, असार १९, २०८२

सेजनद्वारा अनुदान अस्वीकार

नेपालखोज २०८२ असार १७ गते २१:३२

काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आगामी आर्थिक वर्ष २०८२र८३ को बजेटमार्फत सरकारले उपलब्ध गराएको रु एक करोड अनुदान नलिने जनाएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आगामी आवको वार्षिक विकास कार्यक्रमको बजेट उपशीर्षक नम्बर २१ मा सेजनलाई सञ्चालन अनुदान रु एक करोड विनियोजन गरेको उल्लेख छ ।

सेजनको आज बसेको कार्यसमिति बैठकले अनुदान अस्वीकार गर्ने निर्णय गरेको अध्यक्ष सुजन ओलीले जानकारी दिए ।
‘सेजनले सञ्चार मन्त्रालयसँग यस प्रकारको कुनै पनि बजेट माग गरेको छैन र हालसम्म उक्त मन्त्रालयबाट कुनै पनि निःशर्त अनुदान स्वीकार पनि गरेको छैन’, अध्यक्ष ओलीले भने ।

विनियोजन कुशलता, बजेट अनुशासन एवं वित्तीय स्रोत उपयोगको प्रभावकारिताबारे सरकार तथा मातहतका निकायमाथि निरन्तर खबरदारी गर्दै आएको परिप्रेक्ष्यमा रु एक करोडको निःशर्त अनुदान स्वीकार गर्नु आफ्नै विरासत र संस्थागत मौलिकताको विपरीत हुने देखिएको सेजनले जनाएको छ । -रासस

प्रतिक्रिया