शनिबार, असार २१, २०८२

अब बुकीपाटन पुग्न पदमार्ग र काठेपुल

नेपालखोज २०८२ असार १८ गते ५:५५

ढोरपाटन (बागलुङ) । पाँच वर्ष अगाडिसम्म ढोरपाटनको बुकीपाटन गुमनाम जस्तै थियो । किनभने प्राकृतिक सुन्दरताका दृष्टिले मनमोहक रहेको बुकीपाटन पुग्न निकै समस्या थियो । साँघुरो गोरेटोमा गोठाला र वस्तुभाउ हिँड्ने गर्थे ।

आन्तरिक तथा बाह्य पटक फाट्टफुट्ट मात्रै जाने गर्थे । तर पछिल्लो समय बुकीपाटनमा पर्यटकको चहलपहल बढ्दै गएको छ । अघिल्लो वर्षदेखि यहाँ पुग्ने पर्यटकको भीडै लाग्न थालेको हो ।

पर्यटकको रोजाइमा बुकीपाटन पर्न थालेपछि यसवर्ष विभिन्न स्थानमा विश्रामस्थल, पदमार्ग र काठेपुल निर्माण गरिएको छ । ढोरपाटन उपत्यकादेखि बुकीपाटनको गर्पाछेडा जोड्ने पदमार्ग निर्माण भएपछि पर्यटक र गोठालेलाई सहज भएको छ ।

पछिल्लो समय बुकीपाटन जाने पर्यटकको सङ्ख्या बढ्दै गएपछि गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु २० लाखमा पदमार्ग लगायतका पूर्वाधार निर्माण गरिएको हो ।

साँघुरो गोरेटोमा यात्रा गर्दा पर्यटक लड्ने र घाइते हुने गर्थे । पदमार्ग निर्माण भएपछि उक्त समस्याको समाधान हुन थालेको छ । उद्योग तथा पर्यटन कार्यालय बागलुङमार्फत पदमार्गग निर्माण भएको हो ।

ढोरपाटन नगरपालिका–९ पाखाथरदेखि गर्पाछेडासम्मको पाँच किलोमिटर पदमार्ग उपभोक्ता समितिमार्फत निर्माण गरिएको पर्यटन तथा उद्योग कार्यालय बागलुङका प्रमुख पारसिंह थापाले जानकारी दिए । गत चैतदेखि सुरु भएको काम असार पहिलो सातामै सम्पन्न भएको उनको भनाइ छ ।

बुकीपाटन हिउँदमा खाली हुने र वर्षामा गोठलाहरु वस्तुभाउ लिएर जाने गरेका छन् । पछिल्लो समय ढोरपाटन आउने अधिकांश पर्यटक बुकीपाटन पुग्ने गरेको ढोरपाटनका होटल व्यवसायी जीवन अदैले जानकारी दिए ।

वर्षौदेखि गोठाला बस्ने बुकीपाटनमा अहिले पर्यटक जान थालेपछि वर्खायाममा चहलपहल बढेको उनको भनाइ छ । बुकीपाटनमा पर्यटक जान थालेपछि गर्पाछेडामा गोठस्टे सञ्चालन गर्न थालेको अदैले बताए ।

उनका अनुसार तीन स्थानमा काठेपुल, तीन स्थानमा विश्रामस्थलसमेत निर्माण गरिएको छ । गत जेठ पहिलो सातादेखि नै पर्यटकहरु बुकीपाटन पुग्न थालेका छन् ।

समुन्द्र सतहदेखि करिब चार हजार पाँच सय मिटरको उचाइसम्म रहेको बुकीपाटनसँगै टीकाधार, फागुने, गर्पाछेडालगायतका स्थानमा पनि पर्यटकको चपहपहल बढेको ढोरपाटनका तिलबहादुर पुनले बताए । -रासस

प्रतिक्रिया