कृषि सामग्री कम्पनी बिर्तामोडद्वारा २० हजार मेट्रिक टन मल बिक्री वितरण

भद्रपुर (झापा) । कृषि सामग्री कम्पनी लिमिटेड बिर्तामोड शाखाले चालु आर्थिक वर्ष २०८१/८२ को हालसम्ममा २० हजार चार सय ४९ दशमलव २० मेट्रिक टन रसायनिक मल बिक्री वितरण गरेको छ ।
शाखाका प्रमुख दीपककुमार राजबंशीका अनुसार शाखालाई चालु आवमा प्राप्त १९ हजार छ सय १९ दशमलव ५० मेट्रिक टन र गत वर्षको मौज्दात एक हजार पाँच सय ५० मेट्रिक टन रसायनिक मल रहेको थियो । उनका अनुसार हाल पनि रसायनिक मल आउने क्रम जारी रहेकाले यस वर्ष किसानलाई खेती गर्न मलको अभाव नहुने अपेक्षा गरिएको छ ।
शाखा कार्यालयको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को हालसम्ममा युरिया १२ हजार १७ दशमलव ३५ मेट्रिक टन, डिएपी सात हजार पाँच सय ३८ दशमलव ५५ मेट्रिक टन, पोटास सात सय ८७ दशमलव ३५ मेट्रिक टन र चुन एक सय पाँच दशमलव ९५ मेट्रिक टन बिक्री वितरण गरिएको छ ।
शाखाका प्रमुख राजबंशीका अनुसार युरीया प्रतिबोरा आठ सय आठ रुपयाँ ५० पैसा, डिएपी प्रतिबोरा दुई हजार दुई सय ५८ रुपयाँ ५० पैसा, पोटास प्रतिबोरा एक हजार छ सय ५८ रुपयाँ ५० पैसा र चुन प्रतिबोरा दुई सय १५ मा बिक्री वितरण भइरहेको छ । हाल युरीया एक हजार एक सय मेट्रिक टन, डिएपी छ हजार मेट्रिक टन र पोटास पाँच सय मेट्रिक टन मौज्दात रहेको शाखा प्रमुख राजबंशीले बताए ।
शाखा कार्यालयले यस वर्ष २१ मेट्रिक टन विभिन्न पाँच प्रजातीका धानको बीउ विक्री गरेको प्रमुख राजबंशीले जानकारी दिए । उनका अनुसार राधा १२, बहुगुणी २, हल्दीनाथ ६, स्वर्णसफ र रामधान जातको धानको बीउ वितरण गरिएको हो ।
प्रतिक्रिया