बिहीबार, असार १९, २०८२

‘पर्यटन मन्त्रालय नीतिगत र संरचनागत सुधारमा केन्द्रित छ’

नेपालखोज २०८२ असार १८ गते १५:५५

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले अहिले मन्त्रालय नीतिगत र संरचनागत सुधारमा केन्द्रित रहेको बताएका छन् ।

प्रतिनिधिसभाअन्तर्गतको अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको आज सिंहदरबारमा बसेको बैठकमा उनले मन्त्रालयले नीतिगत सुधार गरी संरचनागत सुधार गर्दै जानेगरी कार्ययोजना बनाइरहेको बताए ।

उनले भने, ‘हाल हामी नीतिगत र कानुनी सुधारका पक्षमा काम गरिरहेका छौँ । नागरिक उड्डयन, संस्कृति, पर्यटनलगायत क्षेत्रका कानुनी सुधार गर्ने पक्षमा केन्द्रित छौँ । अहिले नौ वटा आवश्यक ऐनहरू अघि बढाइरहेका छौँ । संरचनामा काम गर्ने गरी योजनाबद्ध रूपमा लागिरहेका छौँ ।’

मन्त्री पाण्डेले पर्यटन बोर्डसँगको समन्वयमा पर्यटन प्रवर्द्धनको खाका र कार्ययोजना बनाउने अन्तिम चरणमा पुगेको जानकारी दिए ।

यसअघि पर्यटन दशक घोषणा भइसकेको उल्लेख गर्दै उनले भने, ‘हामी कार्ययोजना बनाउने काममा लागिरहेका छौँ । भ्रमण दशकको कार्ययोजना निर्माणको अन्तिम चरणमा छौँ । यो कार्यान्वयनमा आएसँगै पर्यटन क्षेत्रले फड्को मार्ने विश्वास लिएका छौँ ।’

मन्त्री पाण्डेले हवाई सेवालाई सुरक्षित, सुलभ र भरपर्दो बनाउन मन्त्रालयले निरन्तर पहल गरिरहेको बताए ।

प्रतिक्रिया