बिहीबार, असार १९, २०८२

कर्णाली विकास बैंक घोटला प्रकणमा मिश्र पक्राउ

नेपालखोज २०८२ असार १८ गते १९:१३

नेपालगञ्ज । नेपालगञ्जमा रहेको कर्णाली विकास बैंक घोटाला प्रकरणमा पशुपति दयाल मिश्रलाई प्रहरीले आज धम्बोझी चोकबाट पक्राउ गरेको छ ।

मिश्रलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय, बाँकेको हिरासतमा लिएको सिआइबीका प्रहरी उपरीक्षक तथा प्रवक्ता युवराज खड्काले जानकारी दिए ।

‘बैंकको घोटला प्रकरणमा उहाँलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो’, सूचना अधिकारी रहनुभएका खड्काले भने । विसं २०६६ देखि ०७५ सम्म बैंकको अध्यक्ष रहेका मिश्र अहिले नेकपा (एमाले) का केन्द्रीय सदस्य छन् । मधेस आन्दोलनबाट उदाएका नेता मिश्र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा बाँके क्षेत्र नं २ बाट उम्मेदवार थिए ।

स्वतन्त्र राजनीतिक समूहबाट उनी सूर्य चुनाव चिह्नबाट प्रतिस्पर्धा गरे पनि पराजित भएका थिए । पछि उनी एमाले प्रवेश गरेका थिए । मिश्रसँगै सो ठगी प्रकरणमा पक्राउपर्नेको सङ्ख्या तीन पुगेको छ । यसअघि तत्कालीन वित्त प्रमुख देवप्रकाश सिंह ठकुरी र बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ परिसकेका छन् ।

पक्राउ परेकाविरुद्ध बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसुरमा नेपाल राष्ट्र बैंकको समन्वयमा अनुसन्धान भइरहेको सिआइबीले जनाएको छ ।

उक्त बैंकमा अहिलेसम्म रु दुई अर्ब ५० करोड हिनामिना भएको भन्दै उजुरी परेको थियो । बैंक सञ्चालक समिति अध्यक्ष डा ओमप्रकाश मिश्रको संयोजकत्वमा गठित विशेष छानविन समितिले ठूलो रकम घोटाला भएको निष्कर्ष निकालेको थियो । -रासस

प्रतिक्रिया