एआई र हरित विकासमा सर्बियाको ऐतिहासिक लगानी

बेलग्रेड । सर्बिया सरकारले कृत्रिम बुद्धिमत्ता (एआई) र हरित प्रविधिमा आधारित अनुसन्धान कार्यलाई प्रवद्र्धन गर्न दुईवटा नयाँ अनुदान कार्यक्रमको घोषणा गरेको छ, जसअन्तर्गत ११ करोड अमेरिकी डलरभन्दा बढी बराबरको सहयोग प्रदान गरिनेछ ।
सर्बियाको विज्ञान कोषका निर्देशक नेनाद फिलिपोभिचका अनुसार ‘कृत्रिम बुद्धिमत्ता अनुसन्धान परियोजनाहरूका लागि कार्यक्रम’ अन्तर्गत नौ करोड ८४ लाख अमेरिकी डलर बराबरको रकम विनियोजन गरिएको छ ।
उक्त कार्यक्रम दुई वर्षको अवधिमा सञ्चालन हुनेछ र यस अन्तर्गत स्वास्थ्य सेवा, जैव प्रविधि, शिक्षा, कृषि तथा सूचना सुरक्षासम्बन्धी विषयवस्तुमा केन्द्रित भई झण्डै २५ देखि ३० परियोजनालाई सहयोग पुर्याइनेछ । यस कार्यक्रमलाई युरोपेली संघ र विश्व बैंकको सहकार्यमा अगाडि बढाइने छ ।
यसैगरी, ‘हरित कार्यक्रम–विज्ञान तथा उद्योग सहकार्य’ को दोस्रो चरणका लागि एक करोड १७ लाख अमेरिकी डलर बराबरको रकम छुट्याइएको छ ।
राष्ट्रिय बजेटबाट सञ्चालित यो कार्यक्रम एक वर्षसम्म सञ्चालन हुनेछ, जसले वातावरणको संरक्षण, फोहोर तथा फोहोरपानी व्यवस्थापन, माटो तथा हावाको शुद्धता कायम राख्न र जैविक विविधताको संरक्षणमा सहयोग पुर्याउने लक्ष्य राखेको छ ।
-रासस/सिन्ह्वा
प्रतिक्रिया