बिहीबार, असार १९, २०८२

मंगलाका किसानलाई एक सय ८२ थान मिनिटेलर, मिल र थ्रेसर वितरण

नेपालखोज २०८२ असार १८ गते २०:१४

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिकाले किसानलाई अनुदानमा कृषि औँजार र बिरुवा वितरण गरेको छ । गाउँपालिकाको कृषि शाखाको आर्थिक वर्ष २०८१/८२ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार एक सय बयासी मिनिटेलर, मिल र थ्रेसर मेसिन तथा ३२ हजार चार सयवटा सुन्तला, कागती र अलैंचीको बिरुवा वितरण गरेको हो ।

किसानलाई व्यावसायिक फलफूल खेतीप्रति आकर्षित गर्न र यान्त्रिकरणको माध्यमबाट खेती कार्यमा लागत घटाउन ५० प्रतिशत अनुदानमा औजार र बिरुवा वितरण गरिएको गाउँपालिकाको कृषि शाखाका प्राविधिक जगत बानियाले बताए ।

खेतबारी जोत्न प्रयोग हुने मिनिटेल हलो डिजेलबाट चल्ने ६६ वटा, प्रेट्रोलबाट चल्ने ५८ वटा, विद्युत्बाट चल्ने मिल ४८ वटा र थ्रेसर मेसिन १० वटा वितरण गरिएको उनले बताए । थ्रेसर मेसिन बालीको बोटबाट दाना झार्न प्रयोग हुन्छ ।

यसैगरी बीस हजार अलैँची, सुन्तलाका आठ हजार बिजु, चार सय कलमी र कागतीका चार हजार बिरुवा पनि वितरण गरिएको कृषि प्राविधिक बानियाले बताए ।

गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारी क्षेत्री (पेमा)लगायत जनप्रतिनिधिको उपस्थितिमा बिरुवा र औजार वितरण गरिएको थियो ।

सार्वजनिक सूचनामार्फत किसानबाट माग सङ्कलन गरी गाउँपालिकाको कार्यविधि अनुसार मापदण्डमा परेका किसान छनोट गरेर औँजार र बिरुवा वितरण गरेको कृषि प्राविधिक बानियाले बताए । -रासस

प्रतिक्रिया