वनको झाडी फाँडेर तीन सय रोपनी क्षेत्रमा निहुरो र अम्रिसोखेती

ढोरपाटन (बागलुङ) । सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका–७ रेशमा निहुरो र अम्रिसोखेती गरिएको छ । वडा कार्यालय र स्थानीयले तीनवटा सामुदायिक वनमा झाडी फाँडेर करिब ३०० रोपनी क्षेत्रमा निहुरो र अम्रिसो लगाएका हुन् ।
यहाँका तीतेझारी, माकुका र साँघुखोला सामुदायिक वनको ३०० रोपनी क्षेत्रमा खेती सुरु गरिएको वडाध्यक्ष प्रेम लामिछानेले जानकारी दिए ।
अन्य सामुदायिक वनमा पनि बिस्तारै खेती गर्दै जाने उनले योजना सुनाए । तीन वर्षअघि १२ रोपनीमा सुरु गरेको यो खेती हाल ३०० रोपनीमा फैलाउन सफल भइएको अध्यक्ष लामिछानेले बताए ।
यसका लागि वडा कार्यालय र स्थानीयको जनश्रमदान गरी हालसम्म रु तीन लाख लगानी भएको छ । हाल गाउँमै निहुरो र अम्रिसोको बिरुवा उत्पादन हुन थालेकाले बिरुवामा धेरै खर्च नभएको हो ।
रेश गाउँमा पहिले निहुरो र अम्रिसो नपाइए पनि हाल हरेक किसानले बारीको कान्लामा समेत यसको खेती गर्न थालेका वडाध्यक्ष लामिछानेले बताए ।
स्थानीय धनबहादुर जिसी हाल लगाइएको निहुरो र अम्रिसोको उत्पादन बढेमा सामुदायिक वनमा फैसा फल्ने बताउँछन् । तरकारीका रूपमा प्रयोग हुने निहुरो र अम्रिसोको माग र मूल्य पनि राम्रो भएकाले ठूला सहरमा निर्यात गर्न पनि सकिने उनको भनाइ छ ।
झाडी फाँडेर साना बिरुवा लगाएपछि वन्यजन्तुको आक्रमण हुने जोखिम पनि कम भएको जिसीको विश्वास छ । काठेखोला–७ की उजेली शर्माले गाउँकै सामुदायिक वनबाट बिरुवा सङ्कलन गरी खेती बिस्तार गरेको सुनाए ।
प्रतिक्रिया