‘कृषक, स्टार्टअपलाई ऋण नदिने प्रणालीले अर्थतन्त्र चल्दैन’

काठमाडौं । पूर्वअर्थमन्त्री एवं नेपाली काँग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले नेपालको आर्थिक स्थायित्वका लागि सस्तो, पहुँचयोग्य ऋण, सरल धितो प्रणाली, र कृषिमा लक्षित लगानी अनिवार्य भएको बताएका छन्।
अर्थ समितिमा बोल्दै उनले बैंक तथा वित्तीय संस्था सम्बन्धी विधेयक (बाफिया)बारे चलिरहेको बहसमा ध्यानाकर्षण गराउँदै भने, “न्यूनस्तरका कृषक र स्टार्टअपले सहजै ऋण पाउनुपर्ने व्यवस्था नभएसम्म अर्थतन्त्रमा गति आउँदैन ।”
उनले वर्तमान अवस्थामा बैंकमा तरलता भएपनि उद्यमीहरूले ऋण लिन हिच्किचाउनु नीतिगत कमजोरीको परिणाम भएको बताए। “जनता एक करोड रुपैयाँभन्दा कम ऋण माग्न गए पनि धितो प्रक्रियाले हैरान बनाएको छ,” भन्दै उनले धितो प्रणाली सरल र पारदर्शी बनाउनुपर्ने धारणा राखे।
कृषिमा लगानीबिना चामलमा आत्मनिर्भरता सम्भव छैन
कार्कीले कृषिमा आधारित अर्थतन्त्र भएको देशमा धान–चामलमा आत्मनिर्भर बन्ने कुरा नारामा मात्र सीमित नभइ, व्यवस्थित लगानी नीति आवश्यक भएको बताए। “बाफिया विधेयकमा कृषि र स्टार्टअपसँग सम्बन्धित प्रावधान स्पष्ट र सशक्त बनाउन जरुरी छ,” उनले भने।
साथै उनले गभर्नर र अर्थमन्त्रीसहितको आवासीय छलफलको प्रस्ताव राख्दै भने, “कानुन हतारमा होइन, गहिरो विश्लेषणपछि बनाउँदा मात्रै आर्थिक सुधार सम्भव हुन्छ।”
प्रतिक्रिया