शुक्रबार, असार २०, २०८२

चलचित्र ‘रियाल रिङ्गेट’को दोस्रो गीत ‘तिम्रा बाले ज्वाइँ खोजे’ सार्वजनिक

नेपालखोज २०८२ असार १९ गते १६:४५

काठमाडौं । नेपाली चलचित्र ‘रियाल रिङ्गेट’को दोस्रो गीत ‘तिम्रा बाले ज्वाइँ खोजे’ सार्वजनिक गरिएको छ । आगामी श्रावण १६ गते प्रदर्शनमा आउने तयारीमा रहेको यस चलचित्रले वैदेशिक रोजगारीको मुद्दालाई मुख्य विषयवस्तु बनाएको छ, जुन गीतको बोल र भावमा पनि झल्कन्छ ।

सार्वजनिक भएको नयाँ गीत ‘तिम्रा बाले ज्वाइँ खोजे’ले प्रेम र वैदेशिक रोजगारीको सम्बन्धलाई रोचक ढङ्गले प्रस्तुत गरेको छ । रामचन्द्र काफ्ले र जुनू रिजाल काफ्ले को स्वर रहेको यस गीतमा प्रदीप भारद्वाजको शब्द र रामचन्द्र काफ्लेको सङ्गीत रहेको छ । गीतमा अभिनेता प्रमोद चौलागाईं र अभिनेत्री निता अधिकारी को अभिनय र नृत्य देख्न सकिन्छ ।

गीतको बोलले नै केटी पक्षबाट ज्वाइँको रूपमा विदेशमा कमाउने केटाको अपेक्षा रहेको स्पष्ट पार्छ । निता अधिकारीले गीतमा आफू विदेशमा कमाउन गएको केटा खोजिरहेको भाव व्यक्त गरेकी छन् । यसको प्रत्युत्तरमा प्रमोद चौलागाईंले आफू पनि विदेश जाने तयारी गरिरहेको कुरा गरेका छन् । यो गीतले प्रमोद र निता दुवैका पात्रहरूको पृष्ठभूमि र उनीहरूको सम्बन्धलाई प्रारम्भिक रूपमा दर्शकमाझ परिचित गराउन मद्दत पुर्याएको छ ।

यस गीतले नेपाली समाजमा वैदेशिक रोजगारीले सिर्जना गरेको आर्थिक र सामाजिक प्रभावलाई प्रतिबिम्बित गरेको छ । चलचित्रका निर्देशक विभोर पोखरेलले ‘रियाल रिङ्गेट’लाई हरेक नेपालीको कथा भनेर दाबी गरेका छन् । यस चलचित्रले वैदेशिक रोजगारीमा गएका नेपाली युवायुवतीहरूले भोग्नुपर्ने यथार्थ र उनीहरूको जीवनशैलीलाई नजिकबाट चित्रण गर्ने उनले बताए । चलचित्रको नाम ‘रियाल रिङ्गेट’ आफैँमा प्रतीकात्मक छ ।

‘रियाल’ कतार र साउदी अरेबियाको मुद्रा हो भने ‘रिङ्गेट’ मलेसियाको मुद्रा हो । यी दुवै नामको संयोजनले नेपाली श्रमिकहरूको लागि मुख्य गन्तव्य मुलुकहरूलाई सङ्केत गर्छ, जहाँबाट लाखौँ नेपालीहरूले आफ्नो परिवारको गुजारा चलाउन र राम्रो भविष्यको खोजीमा काम गरिरहेका छन् । यो नामले नै चलचित्रको मूल विषयवस्तु र वैदेशिक रोजगारीका पाटाहरूमाथि प्रकाश पार्न खोजेको देखिन्छ ।

प्रतिक्रिया