शुक्रबार, असार २०, २०८२

आत्मनिर्भर बनाउन भरतपुर महानगरको तालिम

नेपालखोज २०८२ असार १९ गते १७:३१

चितवन । भरतपुर महानगरपालिकाले ७७९ जनालाई सीपमूलक तालिम प्रदान गरेको छ । महानगरपालिकाले स्थानीय श्रम बजारको माग र दक्ष जनशक्तिको आवश्यकतालाई ध्यानमा राख्दै मेसन (ढलान र निर्माण), वारिष्टा (कफी तथा पेय पदार्थ तयार गर्ने), चालक र एडभान्स ब्युटीपार्लरसम्बन्धी तालिम सञ्चालन गरेको थियो ।

तालिम समापन समारोहमा भरतपुर महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले प्रशिक्षार्थीहरूलाई संयुक्त रूपमा प्रमाणपत्र वितरण गरे । महानगर प्रमुख दाहालले सीप विकासमार्फत रोजगारी सिर्जना गर्दै आत्मनिर्भर महानगर बनाउने उद्देश्यले तालिम आयोजना गरिएको बताए । उनले भरतपुर महानगर भविष्यमा पनि यस्ता तालिमलाई प्राथमिकतामा राख्दै युवालाई स्वरोजगारतर्फ प्रेरित गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उपप्रमुख चित्रसेन अधिकारीले महानगरले युवाहरूलाई लक्षित गरी बर्सेनि यस्ता तालिमहरू प्रदान गर्दै आएको जानकारी दिए । चालु आर्थिक वर्षका लागि सीप विकास कार्यक्रममा एक करोड ५० लाख रूपैयाँ विनियोजन गरिएको र सोही बजेटबाट एक हजार ७०० जनालाई तालिम दिइएको उहाँको भनाइ थियो ।

प्रमुख प्रशासकीय अधिकृत पौडेलले स्थानीयस्तरमै रोजगारी सिर्जना गर्न सकिने यस्ता तालिमहरूलाई अझ प्रभावकारी बनाइने बताए । कार्यक्रममा प्रशिक्षार्थीहरूले प्राप्त तालिमले आफूहरूलाई व्यवसायिक जीवनमा अघि बढ्न मद्दत गर्ने विश्वास व्यक्त गरेका थिए ।

प्रतिक्रिया