शुक्रबार, असार २०, २०८२

धानको ब्याडमा खैरा रोग र गवाराको प्रकोप

नेपालखोज २०८२ असार १९ गते २१:२६

नारायणगढ । यहाँको विभिन्न स्थानमा धानको ब्याड अनुगमन गर्दा आवश्यक खाद्य तत्व जिंकको कमीले लाग्ने खैरा रोग र गवाराको प्रकोप देखिएको छ ।

कृषि विकास कार्यालय चितवनको प्राविधिक कार्य समूहले सो अनुगमन गरेको हो । कार्यालयकी बागवानी विकास अधिकृत स्वस्तिका चौहानका अनुसार हाल रोपाइँको तयारी भइरहेका खेत तथा बीउको ब्याडमा जिंक तत्वको कमीका कारण खैरा रोग देखिएको छ । गवारोको संक्रमणसमेत पाइएको छ ।

जिंकको कमी हुँदा बोटको फेदतिरको पात पहेँलिने, खैरा थोप्ला देखिने, विस्तारै पात पूरै खैरो वा रातो भएर सुक्ने र धानमा गाँज नलाग्ने कृषि प्राविधिकहरु बताउँछन् ।

उनका अनुसार पानीको अभाव हुने तथा रासायनिक मल असन्तुलित रूपमा प्रयोग गरिएका तथा एउटै खेती लगातार धेरै वर्ष लगाइरहने खेतहरूमा यस्ता रोग र कीराको प्रकोप बढी देखिन्छ ।

चौहानका अनुसार गवारो धानको प्रमुख पिराहा कीरा हो, जसको लार्भाले गुवो खाएर बीउलाई नोक्सान पु(याउने गर्छ । पहेँलो र सेतो गवारो विशेष रूपमा धानमा क्षति पु-याउने कीरा हुन् । ब्याडमा गबारोको प्रकोप देखिएको र यसले उत्पादनमा असर गर्न सक्ने उनले बताए ।

अधिकृत चौहानले खैरा रोग नियन्त्रणका लागि जिंक सल्फेट २० ग्राम र चुन १२ ग्रामलाई ५० लिटर पानीमा मिसाइ स्टिकर थपेर एक रोपनी खेतमा छर्कनु पर्ने र ७ दिनको फरकमा दोहो¥याउन उपयुक्त हुने बताए ।

जिल्लामा हाल २७ हजार २०७ हेक्टर क्षेत्रफलमा वर्षे धान खेती हुँदै आएको छ । धानको औसत उत्पादकत्व प्रतिहेक्टर ४.२ मेट्रिकटन रहेको छ । -रासस

प्रतिक्रिया