सुदूरपश्चिम प्रदेश : उद्योगमन्त्री चौधरी पदमुक्त
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई आज पदमुक्त गरेका छन् ।
मुख्यमन्त्रीले मन्त्री चौधरीलाई यही असार पहिलो साता पदबाट राजीनामा दिन निर्देशन दिए पनि उनले राजीनामा दिएका थिएनन् । मुख्यमन्त्रीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी आफैँसँग राखेका छन् ।
मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार डा जीतु उपाध्यायले सरकारको आर्थिक पारदर्शिता र सुशासन कायम गर्ने सवालमा गरिएको आग्रहलाई बेवास्ता गरिएपछि विकल्पको रुपमा मुख्यमन्त्रीले आज मन्त्री रामेश्वर चौधरीलाई पदमुक्त गरेका छन् ।
चौधरी नागरिक उन्मुक्ति पार्टीबाट गत जेठमा मन्त्रीमा नियुक्त भएका थिए । यसअघि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीको जिम्मेवारीमा रहनुभएका सोही पार्टीका लक्ष्मणकिशोर चौधरीले विवादस्पद ‘अडियो प्रकरण बाहिरिएपछि मुख्यमन्त्रीको निर्देशनमा पदबाट राजीनामा दिएका थिए ।
प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका नेता एवं मुख्यमन्त्री शाहको नेतृत्वमा गठन भएको प्रदेश सरकारमा सत्ता गठबन्धन दल नेकपा (एमाले) र नागरिक उन्मुक्ति पार्टी सहभागी छन् ।
कूल ५३ सदस्यीय प्रदेशसभामा नागरिक उन्मुक्तिका सात जना सदस्य हुनुहुन्छ । नेपाली कांग्रेसका १८, नेकपा ९एमाले० का ११ छन् ।
प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का ११, नेकपा (एकीकृत समाजवादी) का चार (एक निलम्वित), राप्रपाका एक र एक स्वतन्त्र सदस्य छन् । -रासस
प्रतिक्रिया