शुक्रबार, असार २०, २०८२

रावाबेँसीबाट करोड हाराहारीका लिची बिक्री

नेपालखोज २०८२ असार २० गते ९:२०

खोटाङ । रावाबेँसी गाउँपालिकाका किसानले लिची बेचेर करिब एक करोड आर्जन गरेका छन् । यो पालिकाम यसपटक १८४ मेट्रिक टन लिची उत्पादन भएको छ । छ वडा रहेको यो गाउँपालिका–१ कुभिण्डेमा सबैभन्दा बढी ८८ मेट्रिक टन लिची उत्पादन भएको जनाइएको छ ।

कुभिण्डेमा ११ हेक्टरमा लगाइएको लिचीले उत्पादन दिन थालेको गाउँपालिकाका कृषि शाखा प्रमुख उद्धव बास्तोलाले बताए । पालिकाको वडा नं २ खार्पामा २४ मेट्रिक टन, वडा नं ३ लामीडाँडामा १६, वडा नं ४ धारापानीमा १६, वडा नं ५ दुवेकोलमा आठ र वडा नं ६ हौँचुरमा ३२ मेट्रिक टन उत्पादन भएको छ ।

आफूले ३० हजारको लिची बिक्री गरेको कुभिण्डेस्थित लाङ्घाली चोकका प्रेमबहादुर मगरले बताए । उनले प्रतिदाना एकमा बिक्री गरेका हुन् । सोही स्थानका खड्गप्रसाद रेग्मीले ४५ हजारका लिची बेचिसकेका छन् । केही किसानले एक लाख भन्दा बढीका लिची बेचिसकेका कुभिण्डेका वडाध्यक्ष गेहेन्द्रमान राईले जानकारी दिए ।

रावाबेँसीका किसानले लिचीबाट यसपटक ९५ लाख हाराहारी आम्दानी गरेका उनको अनुमान छ । रावाबेँसी गाउँपालिकालाई लिची उत्पादनको ‘हब’को रुपमा विकास गर्नेगरी यही असार १० गते सम्पन्न १७ औँ गाउँसभामार्फत नीति तथा कार्यक्रम पारित गरिएको गाउँपालिका प्रमुख फटिककुमार श्रेष्ठले बताए ।

प्रतिक्रिया