शनिबार, असार २१, २०८२

खलङ्गामा वितरण गरिएको खानेपानीमा इकोली जीवाणु फेला

नेपालखोज २०८२ असार २० गते १२:१६

दार्चुला । दार्चुला सदरमुकाम खलङ्गामा वितरण गरिएको खानेपानीमा मानव स्वास्थ्यका लागि घातक हुने इकोली जीवाणु पाइएको छ । स्वास्थ्य कार्यालय दार्चुलाले गरेको परीक्षणमा पाँच स्थानबाट सङ्कलन गरिएको नमूनामध्ये चार स्थानको पानीमा इकोली जीवाणु फेला परेको हो ।

स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख वीरेन्द्रप्रसाद भट्टका अनुसार दूषित पानीकै कारण पानीमा इकोली देखिएको पुष्टि भएको छ । पछिल्लो दुई सातादेखि धमिलो पानी आउने गुनासो बढेपछि मुहान अनुगमन र पानी परीक्षण गरिएको थियो ।

इकोली जीवाणु मानव वा जनावरको मलजन्य दूषित पानीमा पाइने गरेको भट्टको भनाइ छ । खलङ्गामा वितरण भइरहेको पानी महाकाली नगरपालिका–३ स्थित गारकुखोलाबाट ल्याइएको हो । एक महिनाअगाडि सोही खोलामा मरेको कुकुरको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । त्यही खोलाको पानी सिधै डुङ्गरीस्थित ट्ङ्याकी हालेर धारामा पठाइएको थियो । तर ट्ङ्याकीमा समेत क्लोरिन नराखिँदा पानी धमिलो र दूषित देखिएको हो ।

पानीको मूल स्रोत, प्रशोधन युनिट र उपभोक्ताको धारासम्मको पानीमा इकोली पाइएको स्वास्थ्य कार्यालय प्रमुख भट्टको भनाइ छ । पानी प्रयोग गर्दा उपभोक्ता सचेत हुनु आवश्यक रहेको उनले बताए ।

पानीमा क्लोरिनको मात्रासमेत राष्ट्रिय खानेपानी गुणस्तर निगरानी निर्देशिका, २०७० र प्रथम संशोधन, २०७६ को मापदण्डअनुसार नभएको भन्दै नियमित रूपमा क्लोरिन मिसाएर मात्रै पानी वितरण गर्न खलङ्गा सहरी खानेपानी आयोजनालाई सुझाव दिइएको छ ।

प्रतिवेदनमा स्वास्थ्य कार्यालयले पानीको मुहान क्षेत्र वरिपरिको सरसफाइ, छेकबार, रेखदेख र वितरण पाइपहरूबाट अन्य दूषित पानी मिसिन नदिन नियमित अनुगमन र निगरानी गर्नुपर्ने सुझाव दिएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले बताए ।

स्वास्थ्य कार्यालयको प्रतिवेदनअनुसार महाकाली नगरपालिकामार्फत खलङ्गा सहरी खानेपानी आयोजनालाई पानीको गुणस्तर सुधार र सरसफाइमा ध्यान दिन भनिएको उनको भनाइ छ ।

साथै सरसफाइ सन्देश, उपभोक्तालाई कम्तीमा असार, साउन र भदौको महिनासम्म खानेपानी शुद्धीकरण तथा उमालेर खाने बानीको विकास गर्न सञ्चारमाध्यममार्फत सूचना सन्देश प्रसारण गर्न भनिएको छ । रासस

प्रतिक्रिया