मंगलबार, वैशाख १६, २०८२

शुल्क फिर्ता गर्न मेडिकल कलेजको अटेरी, फिर्ता गर्ने समय आज सकिँदै

नेपालखोज २०७६ मंसिर ८ गते १०:२१

८ मंसिर, काठमाडौँ । मेडिकल कलेजहरूले विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क फिर्ता गर्न सरकारले दिएको १५ दिने म्याद आज सकिएको छ तर पनि मेडिकल कलेजहरूले विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क फिर्ता गरेका छैनन् ।

शिक्षा मन्त्रालयले कात्तिक २४ गते सूचना जारी गर्दै १५ दिनभित्र बढी शुल्क फिर्ता वा समायोजन गर्न निर्देशन दिएको थियो । मन्त्रालयले तेस्रो पटक दिएको समयसीमा आज सकिएको छ । मन्त्रालयले यसअघि गत चैत र दसैंअघि पनि शुल्क फिर्ता गर्न निर्देशन दिएको थियो ।

सरकारको निर्देशनलाई बेवास्ता गरेपछि मेडिकल कलेजमा विद्यार्थीको आन्दोलन चर्कंदै गएको छ भने सरकारले कलेजहरूविरुद्ध कारबाही अगाडि बढाउने तयारी गरेको छ । आफूहरुले पटकपटक बढी लिएको शुल्क फिर्ता गर्न कलेज प्रशासनसँग माग गरेपनि यस विषयमा कलेज प्रशासनले कुनै छलफल नगरेको गुनासो विद्यार्थीले गरेका छन् ।

शिक्षा मन्त्रालयले १५ दिनभित्र रकम फिर्ता नभए विद्यार्थीलाई जिल्ला प्रशासनमा उजुरी दिन र प्रशासनलाई कारबाही अघि बढाउन आग्रह गरेको थियो ।

कारबाहीका लागि उसले गृह मन्त्रालयमा पत्राचारसमेत गरिसकेको छ । गृह प्रवक्ता केदारनाथ शर्माले प्रमाणसहित विद्यार्थीले प्रशासनमा उजुरी दिन सक्ने बताए । ‘मेडिकल कलेजको शुल्क विवाद विश्वविद्यालयसँग जोडिएको छ, शिक्षा मन्त्रालयले नै टुंगो लगाओस् भनेर कलेजहरूलाई मौका दिइएको हो,’ उनले भने, ‘अन्तिम मौका दिँदा पनि टुंगो लाग्दैन भने जिल्ला प्रशासन कार्यालयले उजुरी लिएर कारबाही प्रक्रिया अघि बढाउँछ ।’

०७५ असोज २८ मा मन्त्रिपरिषद् बैठकले एमबीबीएस र बीडीएसको शिक्षण शुल्क तोकेको थियो । तोकिएकोभन्दा बढी शुल्क लिए प्रशासनमा उजुरी दिन सक्ने र प्रशासनले कानुनी कारबाही अघि बढाउने निर्णयसमेत भएको थियो ।

गृहमन्त्री रामबहादुर थापाले समेत कलेजहरूलाई कारबाही अघि बढाउन कास्की, पर्सा, रूपन्देही र चितवनका प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएको स्रोतले जनाएको छ ।

कास्कीको गण्डकी मेडिकल कलेजमा १० महिना, चितवनमा भदौ ५ देखि, युनिर्भसल र नेसनल मेडिकल कलेजमा दुई महिनादेखि आन्दोलन जारी छ ।

प्रतिक्रिया