७ किलो ५ सय ग्राम अवैध लागू औषध अफिम सहित पक्राउ
काठमाडौं । कपिलवस्तुको कृष्णनगर नगरपालिका २ पिपलबोटबाट ७ किलो ५ सय ग्राम अवैध लागूऔषध अफिम सहित रोल्पा परिवर्तन गाउँपालिका १ बस्ने ५० वर्षीया सिता रोकालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले चन्द्रौटाबाट कृष्णनगरतर्फ आउँदै गरेको लु.१ ह १५७ नम्बरको अटोमा सवार उनलाई जाँच गर्ने क्रममा उक्त अफिम सहित फेला पारी पक्राउ गरेको हो । साथै अटो चालक शिवराज नगरपालिका ५ बस्ने शुशिल क्षेत्री समेतलाई आवश्यक अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।
झापाको बिर्तामोड नगरपालिका ३ सैनिक मोडबाट करिब १३ ग्राम ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कचनकवल गाउँपालिका ३ बस्ने २२ वर्षीय सदाम राजबंशी र सोही गाउँपालिका ४ बस्ने ३९ वर्षीय नर बहादुर राजबंशी रहेका छन् । विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण व्यूरो काकाँडभिट्टा र ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
बाँकेको नेपालगंज उपमहानगरपालिका १२ बेलासपुरबाट ४ ग्राम ब्राउनसुगर सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही उपमहानरगपालिका ४ बसपार्क बस्ने २३ वर्षीय मोहम्मद जुनेड हलुवाई र बर्दिया बढैयाताल गाउँपालिका ३ बस्ने २७ वर्षीया सपना पुन रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँके तथा लागूऔषध नियन्त्रण व्यूरो नेपालगंजबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त ब्राउनसुगर सहित फेला पारी पक्राउ गरेको हो ।
प्रतिक्रिया