गुह्येश्वरी मन्दिरमा १७३.५ तोला सुन अनियमितता
काठमाडौं । गुह्येश्वरी मन्दिरमा १७३.५ तोला सुन अनियमितता भएको तथ्य बाहिर आएको छ । पशुपति क्षेत्र विकास कोषले गुह्येश्वरी मन्दिर गर्भगृह मर्मत सम्भार गर्ने क्रममा अष्टदल र भैरवको मूर्तिमा रहेको १७३.५ तोला अर्थात् करिब दुई किलोभन्दा बढी सुन अनियमितता भएको भेटिएको हो ।
अष्टदलको मूर्तिमा साविकमा ३७९ तोला सुन थियो । मर्मत सम्भार गर्ने क्रममा निकालेर जोख्दा २९४ तोलामात्र भेटिएको कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले जानकारी दिए । अष्टदलमा ८५ तोला सुन अनियमितता भएको भेटिएको छ । त्यसैगरी भैरवको मूर्तिमा साविकमा ३३४ तोला सुन भएकामा मर्मत सम्भारका क्रममा निकालेर जोख्दा २४५.५ तोलामात्र पाइएको छ । भैरवको मूर्तिबाट ८८.५ तोला सुन गायब भएको छ ।
गुह्येश्वरी मन्दिर कोष मातहत नै भएपनि यहाँको व्यवस्थापन गुठी संस्थानले गठन गरेको समितिले गर्दै आएको छ । द्वैध स्वामित्वका कारण मन्दिरमा बेला बेलामा विवाद आउने गरेको छ । व्यवस्थापन समितिका अध्यक्ष सुमित खड्गी गुह्येश्वरी मन्दिरमा अण्डा, जाँड, रक्सीजस्ता तामसी चीज पनि चढाइने भएकाले सुन खिइएर गएको दावी गर्छन् ।
कोषले व्यवस्थापन समिति र पुजारीलाईसमेत विसं २०७५ भदौ ६ गते नै सुन गायब भएको विषयमा सत्यतथ्य खुलाउन भनी पत्राचार गरेको थियो । समिति र पुजारीबाट चित्त बुझ्दो जवाफ नआएपछि छानबिन समिति बनाएर यस सम्बन्धमा गहिरिएर अध्ययन गर्न लागिएको कोषाध्यक्ष थापाले बताए । सुनको खिइएर बनेको टुक्रासमेत नदेखाइएकाले छानबिन गर्न लागिएको हो ।
अण्डा, जाँड, रक्सीले सुन खिइएको भए प्वाल परेको, खिया लागेको हुनुपर्नेमा त्यस्तो समेत नभेटिएको कोषले जनाएको छ । छानबिन समितिमा संस्कृति, पर्यटन नागरिक उड्डयन मन्त्रालय, संस्थानलगायत सरोकार भएका निकायका प्रतिनिधिसमेत राख्ने गृहकार्य भइरहेको छ ।
प्रतिक्रिया