मंगलबार, वैशाख १८, २०८१

माताश्री धुन नै मालश्री धुन

जानकी निरौला २०७७ कार्तिक ९ गते १४:२९

उत्पत्ति र विकासः
मालश्री धुन रागमा आधारित धुन हो । नेपालमा रागको प्रयोग सोह्रौ शताब्दीदेखि भएको लिखित प्रमाण भेटिएता पनि यसको प्रयोग ईशापूर्व ५०० भन्दा अघिदेखि नै हुँदै आएको विश्वास गरिन्छ । किनभने वेद उपनिषद् र बौद्ध धर्म ग्रन्थहरुमा समेत रागको प्रयोग भएको थियो ।

शुरुका दिनमा प्रकृति र आत्माको भावना र अनुभुतिलाई दर्शाउन रागको प्रयोग गरिन्थ्यो र यसै रागबाट संगीतका विभिन्न किसिमका धुनहरु बन्दै गए । तर, नेपालमा यस्ता कति धुनहरु रचना गरिए भन्ने अभिलेख कतै उपलब्ध छैन । सोह्रौ शताब्दीमा मल्ल राजाहरुले केही व्यवस्थित गरे । राजा महेन्द्र मल्लले वर्षै भरीलाई हुने गरी हरेक महिनाकोलागि एक एक धुन बजाउने व्यवस्था गरेका थिए र असौज महिनाको लागि मालश्री धुन बजाउने र सुन्ने गरिन्थ्यो भन्ने कुरा संस्कृतिविद्हरुले बताउदै आउनु भएको छ ।

धुनको विविधतापूर्ण उपयोग :
गृष्म ऋतुको अन्त्य भई शरद ऋतुको आगमन भएको खुसियालीमा यो धुन बजाउने गरिन्थ्यो । अर्थात ईन्द्रजात्रा सकिएपछि घटस्थापनाको अगाडि औंसीदेखि कार्तिक लक्ष्मीपूजाको दिनसम्म यो धुन बजाउने चलन थियो । मल्ल राजाहरुको पालामा हनुमानढोका अगाडिको नृत्यनाथको मन्दिरमा सो अवधिमा मालश्री बजाउने गरिन्थ्यो । मल्ल राजाहरुले यस धुनलाई सैनिकको धुनका रुपमा पनि प्रयोग गरेका थिए भने कुनै शुभकार्यको प्रारम्भमा मंगल कामनाको रुपमा पनि यो धुन बजाइन्थ्यो ।

काठमाण्डौं उपत्यकाको नेवार संस्कृतिले यस धुनलाई बचाउन र परिस्कृत गर्न धेरै ठूलो योगदान गरेको पाइन्छ । नेवार संस्कृतिमा प्रचलित खि बाजा, धिमे बाजा र बाँसुरी बाजाका माध्यमबाट यो धुन बजाउने गरिदै आएको हो । शुरुमा पन्चेबाजा र नौमति बाजामा मात्र बजाइने यो धुन पछि गएर जुनसुकै बाजामा पनि बजाउदै आएको पाइन्छ । पृथ्वीनारायण शाहले पनि मल्लकालीन प्रचलनलाई निरन्तरता दिदै सैनिकको धुनका रुपमा र मंगल कामनाको प्रतीकका रुपमा वा विजयको प्रतीकका रुपमा पनि यो धुन बजाउने चलनलाई निरन्तरता दिएको पाइन्छ । पृथ्वीनारायण शाहको पालामा यस धुनको विकासकोलागि गोरखाका मर्दसिंह थापा नामका व्यक्तिले बृहद राग मालश्री भन्ने कितावमा ७० बटाभन्दा बढी धुनको संग्रह गरी वनारसबाट प्रकाशन गरेको बुझिन आएको छ । त्यस कितावमा राजाहरु राजेन्द्र शाह, रण बहादुर, प्रतापसिंह शाह कालु पाण्डे लगायले आफना रचनाहरु मलश्री धुनमै रचेका थिए ।

यसरी लामो इतिहास बोकेको यो धुन अहिल पनि उत्तिकै लोकप्रीय रहेको छ । गोरखाबाट जमलमा फूलपाति ल्याउदा समेत यसै धुनको प्रयोग गर्ने गरिएको छ । वि.सं २०२७ देखि यस धुनलाई घटस्थापनादेखि कोजाग्रत पुर्णिमासम्म बजाउने गरिएको छ ।

माताश्री हुदै मालश्री
नेपाल एकिकरण अभियान अघिसम्म मालश्री धुनलाई माताश्री धुन भनिन्थ्यो । पछि यसको अपभ्रंस भई मालश्री धुन भएको हो भनी वनारस हिन्दू विश्व विद्यायलका प्राध्यापक दिवाकर प्रधानले उल्लेख गर्नु भएको छ । मातृशक्तिको आराधनालाई केन्द्रमा राखेर विकास भएको यस धुनले मातृ शक्तिको महत्व र वीरगाथालाई उजागर गर्ने मत संस्कृतिविद्हरुको रहेको छ । मातृशक्तिलाई नै किन विशेष आराधना गरियो भन्ने प्रश्नमा घोत्लिदा विभिन्न तर्कहरु साम्ने आउछन । धार्मिक दृष्टिबाट हेर्दा देवीशक्तिको माध्यमबाट नै असूर शक्तिमाथि विजय प्राप्त गरिएको हुँदा देवी भगवतीको आराधना स्वरुप यो धुनको विकास गरिएको मान्न सकिन्छ ।

सामाजिक दृष्टिबाट विचार गर्दा नेपाली समाजमा बहुपतिवाद, बहुपत्निवाद, एकल पतिवाद, देवीवाद प्रचलनमा रहदै आएका छन् । तर ती प्रत्येक वादमा पुरुषको तुलनामा महिलामा बढी पारिवारिक तथा व्यक्तिगत जिम्मेवारी रहेको र विभिन्न प्रथा वा परम्पराका आधारमा महिलाको शोषण उत्पीडन हुदै आएको कटु सत्य हो । बहुपतिवाद प्रथामा महिलाले नै धेरै पतिहरुलाई खुसी राख्नु पर्ने र तिनीहरुबाट जन्मेका सन्तानबीच सुसम्बन्ध र सदभाव कायम गराउनु पर्ने गहन जिम्मेवारी रहन्थ्यो भने बहुपत्निवाद प्रथामा पुरुषले धेरै महिलाहरुसँग विवाह गर्ने हुदाँ पहिलो महिला र उनीबाट जन्मेका सन्तानहरुको लालन पालन ती महिला एक्लैको काधँमा पर्दथ्यो । त्यस्तै एकल पतिवाद प्रथामा पतिको मृत्यु भएमा महिलालाई दोस्रो विवाहकोलागि समाजले स्वीकार नगर्ने कारणले पनि महिलाले एक्लै सन्तानहरुको लालन पालनमा होमिनु पर्ने बाध्यता थियो । त्यस्तै देवी प्रथा पनि नेपालमा एक प्रचलिन प्रथा हो, जसमा महिलालाई देवीको रुपमा पुजेर सधै बन्धनमा राख्ने गरिन्थ्यो । झुमा र देउकी प्रथामा पनि कन्या महिलालाई मन्दिरमा चढाएर एकल जीवन निर्वाह गर्न बाध्य पारिन्छ । यसका अवशेषहरु आज पनि समाजमा विद्यमान छन् । यसरी नेपालमा परापूर्व कालदेखि नै महिलाहरुले आफ्नो र सन्तानको सुरक्षामा धेरै नै चुनौतिहरुको सामना गर्दै आइरहेकोले यिनीहरुको त्याग र वीरताको कदर गर्दै गीत संगीत मार्फत गुणगान गाउने क्रममा यस्ता धुनहरुको सिर्जना गरिएको कुरा यस सम्बन्धी अध्येताहरुले उल्लेख गर्नु भएको छ ।

मातृशक्तिको आराधनालाई यसै तथ्यलाई मनन् गरी मातृशक्तिप्रतिको अगाध आस्थालाई यस धुनले प्रतिविम्वित गरेको छ । सृष्टिको निरन्तरताकी प्रतीक रहेकी मातृशक्तिलाई दुर्गा देवीका रुपमा आराधना गरिने विजया दशमीको पावन अवसरमा यस धुनलाई बजाइने भएकोले शुरुका दिनमा यसलाई माताश्री धुन भनिएको कुरा संस्कृतिविदहरुले औल्याउनु भएको छ । तर यहाँ प्रश्न उठ्न सक्छ ः के मातृशक्तिको आराधनालाइ कुनै महिना विशेष वा पर्व वा समारोह विशेषमा मात्र सीमित गर्न मिल्छ, यस्तो आराधना सधै सवैले गर्नुपर्ने होइन आदि ।

यस प्रश्नमा घोत्लिदा वर्षा ऋतुको व्यस्त जीवन पछि केही फुर्सदको समयको सदुपयोग स्वरुप र घुमफिर तथा भेटघाटको अनुकूल समयका रुपमा यो यामलाई विशेष आराधनाको समयका रुपमा लिइएको हुन सक्ने देखिन्छ ।

नेपाली समाजमा प्रचलित यो धुन दशैंको पहिचान मात्र होइन, सामाजिक सदभावको एक कडीको रुपमा रहेको छ । यसको संरक्षण र प्रबद्र्धनले मौलिक नेपाली संगीतको विकासमा थप मद्दत पुग्ने देखिन्छ ।

प्रतिक्रिया