सोमबार, वैशाख १५, २०८२

बिग बास खेल्न सन्दीप अष्ट्रेलिया जाने तयारीमा

नेपालखोज २०७७ मंसिर २५ गते १९:५२

काठमाडौं । नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने बिग बास लिग (बिबिएल) खेल्न अर्को साता अष्ट्रेलिया जाने भएका छन् । तेस्रो पटक बिग बास खेल्ने तयारीमा रहेका लामिछाने आगामी मङ्गलबार कतार एयरवेजबाट अष्ट्रेलिया प्रस्थान गर्ने छन् ।

अष्ट्रेलिया पुगेपछि लामिछाने १४ दिन क्वारेन्टिनमा बस्ने उनका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए। यसपटक लामिछाने होबार्ट हुरिकन्सबाट बिग बास खेल्ने तयारीमा छन् । यसअघि उनले लगातार दुई सिजन मेलबर्न स्टार्सबाट बिग बास खेलेका थिए । दशौँ संस्करणको बिग बास लिग आजदेखि शुरु भएको छ । आज सम्पन्न पहिलो खेलमा लामिछाने आबद्ध हुरिकन्सले सिड्नी सिक्सर्सलाई १६ रनले पराजित गरेको छ ।

क्वारेन्टिनमा बस्नुपर्ने भएकाले लामिछानेले केही खेल गुमाउनुपर्ने व्यवस्थापक शिवाकोटीले बताए। उनले पछिल्ला दुई सिजनमा २० खेल खेल्दै २६ विकेट लिएका थिए । यसअघि लामिछानेले गत साउनमा क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेलेका थिए ।

ट्रिनिडाड एण्ड टोबागोमा भएको सिपिएलमा उनले जमैका तलाबाजमा आबद्ध भई ११ खेलमा १२ विकेट लिएका थिए । सिपिएलपछि उनि युनाइटेड अरब इमिरेट्समा सञ्चालन भएको इन्डियन प्रिमियर लिय (आइपिएल) मा सहभागी भए। दिल्ली क्यापिटल्समा आबद्ध लामिछानेले यसपटक आइपिएलमा कुनै पनि खेल खेल्न अवसर पाएनन् ।

राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुने तयारीमा रहेको अवस्थामा दुई साताअघि लामिछाने कोरोनाबाट सङ्क्रमित भए । हाल उनि कोरोनाबाट मुक्त अवस्थामा छन् ।

प्रतिक्रिया