मंगलबार, वैशाख १८, २०८१

निजी क्षेत्र एक भएर जानुपर्नेमा जोड

नेपालखोज २०७७ मंसिर २६ गते १२:४३

काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा नवनिर्वाचित पदाधिकारी सहित चेम्बर भवन प्रवेश गरेका छन् । बिहिवार महासंघका सुप्रिमोहरुलाई नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ एवम् पदाधिकारीहरुले महासंघ अध्यक्ष गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, उपाध्यक्षहरु दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठ, रामचन्द्र संघाई र कोषाध्यक्ष सुकुन्तलाल हिराचनलाई स्वागत गरेका थिए ।

स्वागत कार्यक्रममा चेम्बरका अध्यक्ष श्रेष्ठले निजी क्षेत्रका प्रतिनीधीमूलक संस्था बीच विगत समय देखिनै बिभिन्न क्षेत्रमा सहकार्य हुँदै आएको स्मरण गर्दै नयाँ कार्य समितीसँग पनि सहकार्य सद्भाव र समन्वय हुने आशा एवं विश्वास व्यक्त गरे ।

अध्यक्ष श्रेष्ठले महासंघको इतिहासको स्मरण गर्दै महासंघको स्थापना कालदेखि यसको विकासमा चेम्बरले खेलेको भूमिका अतुलनिय रहेको र आगामी दिनहरुमा आम जनताको क्रयशक्ती बढाउन, रोजगारी बृद्धि गर्न, राजश्व प्रशासन,व्यापार बृद्धि आयकर भन्सार दरवन्दि, उद्योगको कच्चा पदार्थमा भन्सार घटाउने लगाएत मुद्धाहरुमा कार्यगत एकता हुनपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले निजी क्षेत्र एउटै रहेकोले फरक, फरक राजनितिक विचारधारा नबोक्ने प्रण गरे । दुई संगठन बीच तालमेल नमिल्दा समस्या समाधान गर्न अप्ठ्यारो हुने भन्दै अध्यक्ष गोल्छाले निजी क्षेत्रको भिजन पेपर तयार गर्ने योजनामा रहेकाले त्यसकालागि चेम्बरसँग सुझावको माग गरे ।

कार्यक्रममा चेम्बर र महासंघका पदाधिकारीहरुले मूलुकको उच्च आर्थिक बृद्धिदर हासिल गर्नकालागि अनुकूल वातावरण सृजना गर्न, श्रम निर्यात प्रवद्र्धन, आयात व्यवस्थापन, व्यापार घाटा, रुग्ण उद्योग, कोभिडको असर, बैकिंङ, राजश्व, उपभोक्ता, लगानी प्रवद्र्धन आदि विषयमा दुवै संस्थाको मूलभूत रुपमा समान विचार र धारणा रहेको धारणा व्यक्त गरे ।

सो अवसरमा महासंघका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले नीजी क्षेत्रको आवाज एउटै हुनुपर्नेमा जोड दिए । चेम्बरको तर्फबाट वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले मुलुक डिजीटल भूक्तानीमा जानुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया