मंगलबार, वैशाख १८, २०८१

कांग्रेस सडकमा घाम ताप्न निस्कनुको अर्थ

हरिकृष्ण खतिवडा (अपरुष) २०७७ पुष १ गते २०:१४

आजको नयाँ पुस्ता वर्तमान सरकारको क्रियाकलापबाट वाक्क भएको छ । विशेष गरी ओली फोवियाको सिकार भएको छ । ओलीजीको उडन्ते गफ र काम गराईमा कुनै तालमेल नै छैन । युवा धेरै भन्दा धेरै सूचना सामाजिक सञ्जालबाट प्राप्त गर्दछ त्यसका आफ्नै कमीकमजोरी अवश्य छन् त्यस्तै सरकारको रक्षा गर्न तत्पर युवावर्गले आफ्नो नेतालाई प्रशंसा गर्ने शब्दहरुमा पनि अतिवाद हावी भएको छ । त्यो अतिवादले शिखर नाघिसकेको छ । एकहाते पुल निर्माणलाई सर्वाेच्च विकास, त्यस्तै सागको मूल्य घट्नूमा ओली सरकारको सफलता, सगरमाथाको उचाई बढाउनुमा सरकारको आजसम्मकै सबैभन्दा ठूलो सफलता जस्ता आत्मप्रशंसाले युवावर्गको कन्पारो तात्नु स्वाभाविकै हो । मानौं ओलीजी कर्तुं अकर्तुं अन्यथा कर्तुं च समर्थः (गर्न नगर्न र अन्यथा गर्न समेत समर्थ हुनु), मानौं उनी समान्य मान्छे जन्मिए जसरी जन्मिएकै हैनन् , मानौं उनी ईश्वरकै अर्को रुप हुन्, मानौं उनलाई हजार जिब्रा भएका शेषनागले सबै जिब्राले एकै पटक प्रशंसा गरे पनि कम हुन्छ जसरी उनका कार्यकर्ताले सामाजिक सञ्जाल कुरुप बनाएका छन् । नेकपाको कार्यकर्ताको हगाई भन्दा पदाई ठूलो हुनाले जनसाधारणको विश्वाश सरकारप्रति विलीन हुन पुगेको बेला कांग्रेस सोमबार घाम ताप्न सडकमा शक्ति प्रदर्शनको नाम दिएर निस्क्यो । लकडाउनले खुम्चिएको हातगोडा तन्काएर केहि स्फुर्तीको अनुभव लिएर ऊ घर फर्किएको छ ।

नेकपाको सरकार बनिसकेपछि कांग्रेस सडकमा यसरी आएको पहिलोपटक हो । यो शक्तिप्रदर्शन सोमबारको लागि पहिले नै मिति तय गरिएको भए तापनि कांग्रेसको मनमा चस्का रामचन्द्र पौडेललाई तनहुँमा पुल उद्घाटन गर्न जाँदा स्थानीय नेकपाको कार्यकर्ता र पुलिसको मिलेमतोमा पक्राऊ गर्नुले पसेको देखिन्छ । एउटा अनौठो उकुसमुकुस कांग्रेसले त्यसबाट अनुभव गय्रो । त्यस्तै सरकारको अकर्मण्यता, नेकपाको घरझगडा, नेकपाको रडाकोमा राष्ट्रपतिको अनावश्यक राजनैतिक सक्रियता, राजावादीको आन्दोलन, सरकार भ्रष्टाचारमा डुब्नू जस्ता कारणहरुले कांग्रेस सडकमा आउन बाध्य भएको देखिन्छ ।

यो शक्ति प्रर्दशनपछि सरकार र प्रतिपक्षको सम्बन्ध कस्तो रहला भन्ने अर्को प्रश्न खडा भएर आएको छ । यस अघिका दिनमा प्रतिपक्षको संसदीय दलका नेता देउवाको सम्बन्ध ओलीजीकै आन्द्रासँग जोडिएको सर्वविदितै छ । त्यसैले कांग्रेसको प्रतिपक्षको भूमिका खासै सन्तोषजनक थिएन । संसदमा पनि पातलो उपस्थिति रहेको कांग्रेसको भूमिकालाई लिएर अनेक नकारात्मक टिकाटिप्पणी भयो । देउवाले संसदमा आफ्ना कुरा राख्दा कागजमा पाँँच सात बुँदा राख्ने र दुई तीन मिनेटमा सकेर हिँड्ने हुँदा प्रतिपक्षको कुरा रखाई अत्यन्त कमजोर हुन पुग्थ्यो । कलात्मक रुपमा कुरा राख्न नसक्नु उनको कमजोरी हो । भाषण गर्ने कला भएका अन्य नेताको समयसीमा अत्यन्तै कम हुने हुँदा कांग्रेस लगभग निद्रामै सुतिरहेको अनुभूति हुन्थ्यो । आगामी दिनमा कांग्रेसको भूमिका संसदमा कस्तो रहला भन्नेमा धेरै खाले अड्कलबाजी भएका छन् ।

सरकारप्रति विभिन्न खाले आरोप प्रत्यारोप कांग्रेसले साँधेको छ । घर झगडामा फसेको नेकपाको दुबै गुट कांग्रेसको निसानामा छन् । अतः तत्काललाई उसको नेकपासँगको सम्बन्ध चिसिन पुग्नेमा दुई मत छैन । वाइडबडी, बालुवाटार, ओम्नी, यति, सुनकाण्ड, निर्मला पन्तसम्मका प्रकरणहरुमा सरकारको मौनता सरकारको अकर्मण्यता भएको आरोप कांग्रेसले सडकमार्फत् लगाएको छ । नेकपाको सरकार सर्वसत्तावादी भएको र उसले मनोमानी ढङ्गबाट सरकार सञ्चालन गरेको सम्मका आरोप कांग्रेसले लागाएको छ । रााजावादीहरु सडकमा आउनु ओलीको अकर्मण्यता रहेको देउवाले आरोप लगाए यसले ओली र देउवाको सम्बन्ध चिसिन पुग्ने आँकलन गर्नु मुर्खता हुने छैन । देउवा नेकपा परित्याग गरी पुनः कांग्रेसमै फर्किएछन् भन्न मन लाग्छ ।

महाधिवेशनको तयारीमा रहेको पार्टीले संसदमा निभाएको भूमिका कारण एकप्रकारको वितृष्णा कार्यकर्तामा छँदै थियो । त्यस्तो वितृष्णा दीर्घकालसम्म नरहोस् र संगठनप्रति उत्तरदायित्व निभाउन अभिप्रेरणा मिलोस् भन्न समेत यो प्रदर्शन थियो भन्दा अत्युक्ति हुने छैन । आगामी महाधिवेशनमा कार्यकर्ताको सक्रियता कुन किसिमको होला भन्ने स्पष्ट खाका समेत कांग्रेसमा थिएन । पार्टीको अबको कार्यदिशा कस्तो हुने भन्ने कुरामा सभापति नै अलमलमा छन् । हुन त अधिवेशन नेता चुन्ने काममा मात्र केन्द्रित रहन्छ । नेपालको राजनीतिको यो दुर्भाग्य नै हो । बिचारहरुका बारेमा खासै छलफल हुँदैन । यद्यपि विराटनगरको कोण सभालाई सम्बोधन गर्दै महामन्त्रीले हिन्दु राष्ट्रको सवालमा जनमतमा जानुपर्ने धारणा राखेका छन् । यो महामन्त्रीको मात्र बिचार हो कि कांग्रेस हिन्दु राष्ट्रको पक्षमा उभिन चाहिसकेको हो त्यो त आगामी महाधिवेशनमा पार्टीको आधिकारिक धारणा आएसँगै थाहा होला ।

शक्ति प्रदर्शनलाई लिएर नेकपा निकट केहि बिचारकहरुका पनि सकारात्मक टिप्पणी आएका छन् । यसले सरकारलाई राज्यको मुल मुद्दाहरुमा मिहिन ढङ्गले अभिप्रेरित हुन मद्दत पुग्दछ । प्रतिपक्ष सबल हुनु लोकतन्त्रको गहना नै हो भन्ने तर्कहरु पनि आएको छ । ओली सरकार नेकपा फुटाएर भए पनि कांग्रेससँग मिली सरकार बनाउने रणनीतिमा थियो तत्काललाई कांग्रेस ओली सरकारमा सामेल नहुने मनस्थितिमा पुगेको प्रदर्शनको अर्थ हो । नेकपालाई जुट्न समेत यसले अभिप्रेरित गरेको छ । नेकपा फुटिहालेमा राष्ट्रिय राजनीतिमा कांग्रेसको भूमिका कस्तो होला त्यो त आगामी दिनमा थाहा भइहाल्छ । कांग्रेसको युवा नेतृत्वले सभापतिलाई नेकपा फुटिहाले पनि सरकारमा सामेल नहुन सुझाएको छ । सभापतिका अघिल्ला कदमहरु देख्दा भने त्यस्तो सुझाव उनको लागि खासै महत्वका रहँदैनन् ।

राष्ट्रपतिको अनावश्यक राजनैतिक सक्रियतालाई लिएर भने कांग्रेस बेसरी झस्किएको देखिन्छ । यो कुरा देशभरका सबै स्थानमा कोण सभामा सम्बोधन गर्दै गर्दा विभिन्न नेताले सोही उच्चारण दोहोय्राउनाले प्रष्ट पारेको छ । ओलीले राष्ट्रपतिलाई विभिन्न मुद्दामा राजनैतिक रुपमा सक्रिय पार्ने हुँदा लोकतन्त्रका मूल्य मान्यतामा कुठाराघात होला कि भन्ने धेरै विचारकहरुको चिन्ता कांग्रेसलाई पनि हुनु अस्वाभाविक होइन ।

प्रतिक्रिया