आइतबार, वैशाख १४, २०८२

राजस्व इ-सेवाबाट भुक्तानी गर्न सकिने

नेपालखोज २०७७ पुष २४ गते १६:२३

काठमाडौं । करदाताहरूले आन्तरिक राजस्व कार्यालयहरूको राजस्व इ-सेवादेखि नै दाखिला (भुक्तानी) गर्न सकिने भएको छ । अबदेखि करदाताले आन्तरिक राजस्व विभाग अन्तरगतका कुनैपनि राजस्व कार्यालयको भ्याट, सम्पती कर, व्यवसाय कर तथा अन्य शेवा शुल्क इ-सेवाबाटै बुझाउन सकिने भएको हो ।

इ-सेवामा यो सेवा उपलब्ध भएसँगै राजस्व कार्यालयमा गएर लामो लाइन बस्नुपर्ने झञ्झटबाट मुक्ति मिलेको छ । इ-सेवा एकाउन्ट भएका करदाताले सहजै घरबाटै कर तिर्न सकिने छ भने इ-सेवा एकाउन्ट नभएका व्यक्तिले नजिकै रहेका इ-सेवा जोन तथा इ-सेवा पोइन्टबाट कर भुक्तानी गर्न सकिनेछ ।

इ-सेवा मार्फत कर भुक्तानी गर्न सकिने सुविधाबारे इ-सेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले भने, ‘सरकारले आफ्नो नीति तथा कार्यक्रममा सबै सरकारी क्षेत्रको भुक्तानीलाई नगदरहित बनाउने उदेश्य राखेको थियो । सरकारको यो नीतिलाई हामीले कार्यान्वयन गर्ने अभियानमा छौँ । यसै सम्बन्धमा सबै सरकारी कार्यालयको भुक्तानीलाई पनि डिजिटल भुक्तानीको माध्यममा जोड्दै नगदरहित अभियानलाई अगाडी बढाएका छौँ ।

हाम्रो देशभर रहेको एजेन्ट नेटवर्क मार्फत देशको जुनसुकै कुनाबाट कर तिर्न मिल्ने अवस्थामा आइपुगेका छौँ । यसबाट कर कार्यालयमा गएर लाइन लाग्नुपर्ने तथा अन्य प्रशासनिक झञ्झटबाट मुक्ति मिल्नेछ भन्ने विश्वास लिएका छौँ’ ।

हाल यो सेवा इ-सेवाको वेब भर्जनमा मात्र उपलब्ध भएपनि निकट भविष्यमा सिधै मोबाईलबाट भुक्तानी गर्न सकिने सुविधा थप्ने कम्पनीको भनाई रहेको छ । इ-सेवामार्फत कर तिर्नका लागि सर्बप्रथम आन्तरिक राजस्व कार्यालयको वेबसाइटमा जानुपर्नेछ ।

त्यसपछि करदाताको पोर्टलमा गइ बायाँ तर्फ रहेको जनरलमा क्लिक गरि ट्याक्स् पेयर लगइनमा क्लिक गर्नुपर्नेछ । त्यसपछि आफ्नो स्थायी लेखा नम्बर र पासवर्ड राखि पेमेन्ट भौचरमा क्लिक गर्नुपर्नेछ ।

त्यसपछि रकम जम्मा हुने बैंकमा एभरेष्ट बैंक राखि आफुले बुझाउन चाहेको करको प्रकार, राजस्व शिर्षक र कर बापतको रकम उल्लेख गर्नुपर्नेछ । सोही गरिसकेपछि आर्थिक वर्ष छनोट गरि जेनेरेट ट्रान्जेक्सन कोडमा क्लिक गर्नुपर्नेछ । उक्त ट्रान्जेक्सन कोड टिपेपछि इसेवामा क्लिक गरि इसेवाको वेभसाइट खोल्नु पर्नेछ ।

त्यसपछि फाइनान्सियल कम्प्टोलर जनरल अफिसमा क्लिक गर्नुपर्नेछ । त्यसपछि आफुले टिपेको ट्रान्जेक्सन कोड र रकम उल्लेख गरि कर भुक्तानी गर्न सकिनेछ । आफुले भुक्तानी गरिसकेपछि राजस्व कार्यालयको वेभसाइटमा हेर्न सकिनेछ र भुक्तानी भएपश्चात् पुरा भएको भनेर देखिनेछ ।

प्रतिक्रिया