मंगलबार, वैशाख १८, २०८१

‘प्रधानमन्त्रीको हैसियतमा गरेका कामको जबाफदेहिता लिन तयार छु’

नेपालखोज २०७७ माघ ४ गते २१:५६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले प्रधानमन्त्रीको हैसियतमा गरेका कामहरूको जबाफदेहिता लिन तयार रहेको बताएका छन् ।

आइतबार अखिल नेपाल महिला सङ्घको काठमाण्डौमा आयोजित केन्द्रीय कमिटीको दोस्रो बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीको हैसियतमा गरेका कामहरूको जबाफदेहिता लिन तयार रहेको बताए ।

आफूले संविधान सम्मत तथा कानुन सम्मत काम गरेकाले जबाफदेहिता लिने उनको भनाइ छ । आफूले गरेका काम लोकतन्त्र, गणतन्त्र तथा राष्ट्रको सार्वभौमसत्ताको पक्षमा रहेको उनले बताए ।

प्रधानमन्त्री ओलीले पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षले स्वतन्त्र न्यायपालिकाको मर्यादामाथि आक्रमण गर्ने तथा हुर्मत लिने काम गरेको बताए। निर्वाचन आयोगलाई निर्वाचन नगर्न आग्रह गरेर लोकतान्त्रिक अभ्यास र संविधान कार्यान्वयनको विपरीत लागेको उनको भनाइ छ ।

उनले पार्टी विभिन्न गुट उपगुटमा विभक्त भएकाले एकीकरण प्रक्रिया सम्पन्न हुन नसकेको बताए । विगत तीन वर्षको अवधिमा पार्टीको नीति, उद्देश्य, गन्तव्य केही नभएको उनको भनाइ छ ।

प्रतिक्रिया