बिहीबार, असार १२, २०८२

प्रतिकिलो २२५ मा बिक्री हुँदै जुम्ली मार्सी

नेपालखोज २०७७ माघ २६ गते १०:१८


काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बिक्रीमा राखेको जुम्लाको मार्सी धानको चामल उपभोक्ताको रोजाइमा पर्न थालेको छ । यही माघ १५ गतेदेखि कम्पनीले काठमाडौँ उपत्यकाका बिक्री काउन्टरबाट बिक्री वितरण शुरु गरेको उक्त चामल शुक्रबारसम्म करीब एक हजार किलो बिक्री भइसकेको छ ।

परीक्षणका रुपमा चामल बिक्री गरेको कम्पनीले शुरुआती मूल्य प्रतिकिलो रु २२५ मा बिक्री गरेको छ । शुक्रबारसम्म ९मार्सीको चामल बिक्रीमा राखिएको आठ दिन शनिबारबाहेक०काठमाडौँ उपत्यकामा रहेका पाँचवटा बिक्री काउन्टर थापाथली, रामशाहपथ, नख्खु, लगनखेल र सूर्यविनायकबाट ९५१ किलो मार्सी चामल बिक्री भइसकेको कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपाने बताइन् ।

उनका अनुसार मार्सी चामल बिक्री शुरु गरेकै दिनदेखि उपभोक्ताको रोजाइमा परेको छ । “हामीले परीक्षणका रुपमा काठमाडौँ उपत्यकाभित्रका पाँचवटै बिक्री काउन्टरमा मार्सी चामल राखेका थियौँ तर नसोचेको बिक्री हुने गरेको छ, हालसम्मको बिक्री हेर्दा दैनिक एक सय किलोभन्दा धेरै परिमाणमा बिक्री हुने गरेको छ”, उनले भनिन् ।

शुरुआती चरणमा कम्पनीले जुम्लाको मार्सी चामललाई ‘नेपाल फुड’ ब्रान्डमा आकर्षण प्याकिङ गरेर काठमाडौँमा बिक्री वितरण शुरु गरेको हो । मार्सी चामल कम्पनीले पहिलो चरणमा सुर्खेतबाट २७० क्विन्टल खरीद गरेर काठमाडौँ उपत्यकाका पाँच बिक्री काउन्टरबाट बिक्री शुरु गरेको हो ।

प्रतिक्रिया