शुक्रबार, असार २०, २०८२

प्रचण्ड–नेपाल समूहले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दै, अध्यक्षद्वयले सम्बोधन गर्ने

नेपालखोज २०७७ माघ २८ गते ९:४४

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आज (बुधबार) काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेकपाले भृकुटीमण्डपमा विरोधसभा गर्न लागेको हो ।

सो सभालाई अध्यक्षद्वयसहित शीर्ष नेताहरुले सम्बोधन गर्ने छन् । विरोधसभा अघि ललितपुरको पुल्चोक, माइतीघर मण्डला, केशरमहल, त्रिपुरेश्वर र जमलबाट जुलुस निकाल्ने नेकपाले जनाएको छ । हरेक जुलुसको नेतृत्व शीर्ष नेताहरुले गर्ने छन् ।

पुल्चोकबाट निस्कने जुलुसको नेतृत्व कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त, प्रमेश हमाल तथा संघ-प्रदेशका सांसदहरुलाई दिएको छ ।

त्यस्तै त्रिपुरेश्वरबाट निस्कने जुलुसको नेतृत्व अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, चक्रपाणि खनाल, जनार्दन शर्मा, मुकन्द न्यौपाने, युवराज ज्ञवाली, वर्षमान पुन, सुरेन्द्र पाण्डे, विष्णुपुकार श्रेष्ठ, सबै केन्द्रीय कमिटी सदस्यहरु, सम्बन्धित प्रदेश कमिटी, संघ तथा प्रदेशका सांसदहरुलाई दिएको छ ।

त्यस्तै माइतीघरबाट निस्कने जुलुसको नेतृत्व नेताहरु अमृतकुमार बोहोरा, गणेश शाह, गिरिराजमणि पोखरेल, भीम आचार्य, मातृका यादव, हरिबोल गजुरेल, केन्द्रीय कमिटी सदस्यहरु सम्बन्धित प्रदेश कमिटी, संघ तथा प्रदेशका सांसदहरूलाई दिइएको नेकपाले जनाएको छ ।

केशरमहलबाट निसक्ने जुलुसको नेतृत्व नेताहरु देवप्रसाद गुरुङ, देवेन्द्र पौडेल, भीम रावल, शक्तिबहादुर बस्नेत, केन्द्रीय कमिटी सदस्यहरु, सम्बन्धित प्रदेश कमिटीका सदस्यहरु, संघ तथा प्रदेशका सांसदहरुले गर्नेछन् ।

जमलबाट निस्कने जुलुसमा लीलामणि पोखरेल, केन्द्रीय कमिटी सदस्यहरु, पेसागत संगठन हेर्ने केन्द्रीय सदस्यहरु, पेसागत संगठन हेर्ने केन्द्रीय सदस्यहरुले गर्ने संघर्ष समितिले जनाएको छ । जुलुसपछि सभा हुने बताइएको छ ।

यस्तै विरोधसभा अघिको प्रमुख जुलुस सुन्धाराबाट सुरु हुनेछ र सबै एकसाथ भृकुटीमण्डप गएर सभामा परिणत हुनेछ । एकीकृत जुलुसको नेतृत्व अध्यक्षद्वय प्रचण्ड र नेपालले गर्ने जनाइएको छ ।

नेकपाले आज गर्न लागेको शक्ति प्रदर्शनका लागि विभिन्न जिल्लाबाट कार्यकर्तालाई काठमाडौं ल्याएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेसँगै विभाजित भएको नेकपाको प्रचण्ड–नेपाल समूह आन्दोलनमा छ ।

प्रतिक्रिया