जसपाका स्थायी समिति सदस्य नेकपा ओली समूहमा प्रवेश

काठमाडौं । जनता समाजवादी पार्टीका स्थायी समिति सदस्य एवं पार्टीका युवा इञ्चार्ज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहमा प्रवेश गरेका छन् ।
शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले जसपाका स्थायी समिति सदस्य इस्लाम हवारीलाई नेकपामा स्वागत गरेका हुन् ।
वीरगञ्ज निवासी हवारीलाई स्वागत गर्दै नेकपाका अध्यक्ष समेत रहेका ओलीले उत्कृष्ट ढंगले पार्टी काम गर्नका लागि शुभकामना समेत दिएको उनको सचिवालयले जनाएको छ ।
बालुवाटारमा पार्टी प्रवेश गरेपछि हवारीले देशलाई सहि दिशा दिन सक्ने नेतृत्वलाई चयन गरेको बताए । प्रधानमन्त्री ओलीको नेतृत्वमा मात्र देशमा समाजवाद स्थापना गर्ने लक्ष्य पूरा हुन सक्ने देखेर आफू नेकपामा प्रवेश गरेको धारणा उनले राखे ।
हवारी पूर्व माओवादी नेता समेत हुन् । पर्सा जिल्लाका सक्रिय नेता हवारीले नेकपाले नै समृद्ध नेपाल निर्माण गर्ने भएकाले अरु दलको आवश्यकता नभएको बताए ।
त्यस्तै कार्यक्रममा जसपाका विभिन्न तहका नेता कार्यकर्ताहरु पनि पार्टी प्रवेशका क्रममा रहेको जानकारी दिइएको थियो ।
प्रतिक्रिया