सोमबार, असार २३, २०८२

खोपको दोस्रो मात्रा ढिलो लगाउँदा झनै राम्रो नतिजा

नेपालखोज २०७७ फागुन २ गते ७:४०

सरकारले कोभिड–१९ विरुद्धको खोप दोस्रो मात्रा पहिलो मात्रा लगाएको दुईदेखि तीन महिनाभित्र दिने तयारी थालेको छ । यसअघि दोस्रो मात्रा चार सातापछि लगाउनुपर्ने तय भए पनि ढिलो लगाउँदा राम्रो नतिजा देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) सल्लाहकार समूहले समेत दुई खोपबीचको समय बढाउन प्रस्ताव गरिसकेको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्र रमण सिंहले बताए । ‘खोप कार्यक्रमको हिसाबले सजिलो हुने गरी दोस्रो मात्रा खोप २ देखि ३ महिनाभित्र लगाउने तयारी थालेका छौँ,’ उनले भने । यसबारे आइतबार मन्त्रालयले निर्णय गर्ने स्वास्थ्य मन्त्रालय स्रोतको भनाइ छ ।

कोभिसिल्ड खोप उत्पादन गर्ने सिरम इन्स्टिच्युट आफ इन्डियाको तथ्यपत्रमा खोपको पहिलो मात्रा ०.५ मिलि लगाएपछि दोस्रो मात्रा ४ देखि ६ सातामा दिन सकिने उल्लेख छ । सिरमको प्रतिवेदनमा विदेशमा भएका अध्ययनहरुमा उपलब्ध तथ्यांक र जानकारी अनुसार पहिलो मात्रा लगाएको १२ सातासम्म दोस्रो मात्रा दिन सकिने जनाइएको छ ।

आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया