सोमबार, वैशाख १५, २०८२

बेलायतमा नयाँ कोरोना भाइरस भित्रन नदिन थप कडाइ

नेपालखोज २०७७ फागुन २ गते ९:५५

लन्डन । बेलायत सरकारले नयाँ कोरोना भाइरस भित्रन नदिन थप कडाइ गर्ने भएको छ । सरकारले भोलि (सोमबार)देखि अनिवार्य होटल क्वारेन्टाइनको नयाँ नियम लागू गर्ने भएको हो ।

यात्रासम्बन्धी नयाँ नियम उल्लंघन गरेको पाइए १० हजार पाउन्डसम्म जरिवाना र १० वर्ष जेल सजाय हुन जनाइएको छ ।

उक्त नियम विशेष गरी कोरोना भाइरसको नयाँ भेरियन्ट फैलिएको ठानिने साउथ अफ्रिका, ब्राजिल, दुबईसहित ‘रेड लिस्ट’ मा रहेका ३३ देशबाट बेलायत फर्किएका बेलायती र आइरिस नागरिकका हकमा लागू हुनेछ ।

उक्त सूचीमा नेपाल भने समावेश छैन । तर नेपालबाट बेलायत आउने यात्रुलाई १० दिन होम आइसोलेसनमा भने बस्न अनिवार्य छ ।

नयाँ नियमअनुसार अति जोखिमयुक्त मुलुकहरूबाट स्वदेश फर्किएका बेलायती र आइरिस नागरिकले १० रातसम्म होटल क्वारेन्टाइन बस्नुपर्नेछ । उक्त अवधिभर सुरक्षाकर्मीको रेखदेखमा बस्नुपर्ने पनि नयाँ नियममा उल्लेख छ । यात्रुहरूले बेलायतमा रहने ठेगाना तथा सम्पर्क नम्बरलगायत विवरणहरू अनिवार्य रूपमा उपलब्ध गराउनुपर्नेछ । यसपछि उनीहरू सेल्फ आइसोलेसन क्षेत्रसम्म जान सक्नेछन् ।

उच्च जोखिमको सूचीमा परेका मुलुकबाट बेलायत आउने यात्रुले होटल क्वारेन्टाइनका लागि १ हजार ७ सय ५० पाउन्ड तिर्नुपर्ने जनाइएको छ । क्वारेन्टाइनका लागि सरकारले १६ वटा होटलमा ४ हजार ६ सय कोठा तयार गरेको स्वास्थ्यमन्त्री म्याट ह्यानककले जनाएका छन् ।

बेलायतमा करिब १ सय ४७ जनामा भाइरसको साउथ अफ्रिकी भेरियन्ट देखिएको बताइएको छ ।

प्रतिक्रिया