अस्ट्रेलियामा सर्वसाधारणले समाचार हेर्न वा सेयर गर्न नपाउने

अस्ट्रेलिया । अस्ट्रेलियामा सर्वसाधारणले समाचार हेर्न वा सेयर गर्न नपाउने भएका छन् । फेसबुकले समाचार हेर्न वा सेयर गर्न प्रतिबन्ध लगाएको हो ।
सामाजिक सञ्जाल जाइन्टले अस्ट्रेलियाका प्रयोगकर्ताले फेसबुकमा समाचार हेर्न वा सेयर गर्न नपाउने बनाएको छ । फेसबुकको यो निर्णयसँगै अस्ट्रेलियाका सर्वसाधारणले अत्यावश्यक सूचना वा जानकारी पाउनबाट वञ्चित हुने भएका छन् ।
बिहीबार बिहानदेखि स्थानीय तथा अन्तर्राष्ट्रिय समाचार संस्था वा वेबसाइटका फेसबुक पेजहरु ब्लक गरिएका हुन् । यस्तै महत्वपूर्ण सरकारी निकायका फेसबुक पेजहरु पनि ब्लक भएका छन् ।

प्रतिबन्धले प्रविधि तथा सामाजिक सञ्जाल जाइन्टको विश्वसनीयतामाथि चुनौति पैदा भएको अस्ट्रेलिया सरकारले बताएको छ ।
समाचारजन्य सामग्रीका लागि फेसबुकले पैसा तिर्नु पर्ने अस्ट्रेलियाको प्रस्तावित कानूनको विरोधमा यस्तो प्रतिबन्ध लगाइएको हो ।
यसैगरी अस्ट्रेलिया बाहिर रहेकाहरुले पनि फेसबुकमा त्यहाँको समाचार पढ्न पाउने छैनन् । प्रस्तावित कानून बुधबार अस्ट्रेलियाको तल्लो सदनबाट पारित भएको थियो । त्यसलाई कानून बनाउनका लागि प्रक्रिया थप अघि बढाउने अस्ट्रेलियाले बताएको छ ।
प्रतिक्रिया