बिहीबार, असार १९, २०८२

वीर अस्पताललाई बिरामीको चाप धान्नै गाह्रो

नेपालखोज २०७६ पुष ४ गते ७:४६

४ पुस, काठमाडौँ। बिहीबार बिहान ९ बजेर ३० मिनेट जाँदा सिन्धुपाल्चोकका सज्जन तामाङ वीर अस्पतालको टिकट काउन्टरबाट टोकन लिएर बस्नुभएको थियो । उहाँले टोकन लिएको ४५ मिनेटपछि टिकट काट्ने पालो आयो । टिकट काटिसकेपछि पेटसम्बन्धी परीक्षणका लागि ग्यास्ट्रो ओपीडीमा जानुभएका तामाङले १५ मिनेटको फरकमा डाक्टरकहाँ परीक्षण गराउनुभयो।

डाक्टरले सल्लाह दिएअनुसार उहाँले अन्य परीक्षणसमेत गराउनुभयो तर उहाँलाई डाक्टरले इन्डोस्कोपी गर्न सल्लाह दिए। इन्डोस्कोपी गर्न भने उहाँले १० दिनसम्म पालो कुर्नुपर्ने हुन्छ। यस्तै गत साता टिप्परले ठक्कर दिएर खुट्टा फ्याक्चर भई उपचार गराइरहनुभएका सोनालाल साह निरन्तर फलोअपका लागि वीर अस्पताल पुग्नुभएको थियो । टिकट काटेर चिकित्सकलाई देखाउँदा १२ बजेको थियो।

नियमित फलोअपपछि १ बजे अस्पताल बाहिरको कुर्सीमा श्रीमतीसँगै बस्नुभएका साह कबाडीको काम गर्नुहुन्छ। कबाडीको काम गर्ने क्रममा उहाँलाई टिप्परले ठक्कर दिएपछि अस्पतालमा उपचार गराइरहनुभएको छ। भीडभाड भए पनि अस्पतालले दिने सेवाप्रति साह सन्तुष्ट हुनुहुन्छ।

बिहान सवा ९ बजे गोरखापत्रको टिम वीर अस्पताल पुग्दा विगतभन्दा भीडभाड कम देखिन्थ्यो। अहिले वीर अस्पतालमा पहिलेजस्तो तीन सय मिटर लामो लाइन बसेर टिकट काट्नुपर्ने व्यवस्थाको अन्त्य भएको छ। बैङ्कमा जसरी टोकनको व्यवस्था हुन्छ, अस्पतालमा पनि टोकन प्रणाली लागू भएपछि उभिएर लाइन बस्नुपर्ने झन्झटबाट भने बिरामी मुक्त भएका छन्।

टिकटमा टोकन प्रणालीले गर्दा टोकन लिएपछि निश्चित समयका लागि जहाँ गएर आए पनि पालो आउने भएकाले यो सुविधाले बिरामी हर्षित देखिन्थे। वीर अस्पतालमा सामान्य टोकन, ज्येष्ठ नागरिक तथा स्टाफ टोकन र अपाङ्गता तथा दृष्टिविहीन टोकन गरी तीन भागमा विभाजन गरिएको छ। लगभग केही मिनेट पर्खेपछि अपाङ्ग र ज्येष्ठ नागरिकको पालो आइहाल्छ। यो खबर आजको गाेरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया